भाद्र १, २०७९ बुधबार | Thu Aug 18 2022

छुट्टै राजनीतिक दल घोषणाको तयारीमा स्वतन्त्र उम्मेदवारहरु



काठमाडौँ – पालिका तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा भाग लिएका र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवारी दिने घोषणा गरेकाहरुले एउटा छुट्टै राजनीतिक दल घोषणाको तयारी थालेका छन् ।

आज (शनिबार) ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा विशेष भेलाको आयोजना गरी प्रदेश र प्रतिनिधिसभा चुनावमा स्वतन्त्र उम्मेदवारहरुको छुट्टै दल गठन गर्ने विषयमा केन्द्रित भएर छलफल शुरु गरेका हुन् ।

दलको विकल्प दल नै भएकाले आगामी संसदीय चुनावमा दल नै गठन गरेर जाने विषयमा छलफल गर्न विशेष भेला आयोजना गरिएको सुमन सायमीले बताए । उनले दल ठिक छैन भन्ने जनतामा भ्रम परेको उल्लेख गर्दै त्यस्तो भ्रम हटाउन र संसदमा कानुन निर्माणका लागि वहुमत आवश्यक पर्ने भएकाले एउटा दल गठन गरेर निर्वाचनमा जाने विषयमा देशभरका स्वतन्त्र उम्मेदवारहरुबीच छलफल शुरु गरिएको बताएका छन् ।

संसदीय चुनाव भनेको नीति निर्माण गर्ने ठाउँ हो । त्यहाँ बहुमतको कदर हुन्छ । एक व्यक्तिले कानुन बनाउन सक्दैन । त्यसो भएको कारण त्यसमा जाँदा दलको विकल्प दल नै हुने उनले बताए । उनले भने, ‘दल ठिक छैन भन्ने जनतामा रहेको भ्रम हटाउन जरुरी छ । दलको विकल्प दल नै हो ।’

प्रदेश र प्रतिनिधिसभा चुनावमा स्वतन्त्रहरुको पनि एउटा दलको आवश्यकता छ भन्ने निष्कर्षका साथ आफू त्यो विशेष भेलामा सहभागी भएको स्वतन्त्र उम्मेदवार रविन्द्रकुमार श्रेष्ठले बताएका छन् । उनले प्रदेश र संघको निर्वाचनमा अनिवार्य दल आवश्यक पर्ने भएकाले भेलाले सो विषयमा छलफल गरेर निष्कर्ष निकाल्ने बताए ।

देशभरका पालिका तह चुनावमा भाग लिएका तथा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेकाहरु सो विशेष भेलामा सहभागी भएका छन । ‘स्वतन्त्र उम्मेदवारी अभियान’ को नाममा आयोजना गरिएको सो विशेष भेलाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा जाँदा नयाँ दल बनाएर जाने निष्कर्ष निकाल्ने बताइएको छ ।

प्रकाशित मिति : असार १८, २०७९ शनिबार  ३ : १६ बजे