श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

अमेरिकाः हाइपरसोनिक मिसाइलको पहिलो परीक्षण असफल !



काठमाडौँ । युक्रेन युद्धका बीचमा रुस, चीन र उत्तर कोरियाबाट हाइपरसोनिक मिसाइलको खतरा सामना गरिरहेको अमेरिकालाई ठूलो झट्का लागेको छ ।

पछिल्लो पटक अमेरिकाको हाइपरसोनिक मिसाइल परीक्षण असफल भएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आफ्नो पछिल्लो मिसाइल परीक्षण ‘अनियमितता’का कारण असफल भएको स्वीकार गरेको छ । पेन्टागनले पहिलो पटक हाइपरसोनिक मिसाइलको सम्पूर्ण प्रणालीको परीक्षण गरेको थियो । हवाईस्थित प्यासिफिक मिसाइल दायरा सुविधामा परीक्षण गरिएको थियो ।

यो परीक्षणको क्रममा दुई चरणको मिसाइलको शीर्षमा सामान्य हाइपरसोनिक ग्लाइड बडी राखिएको बताइएको छ । बुस्टरले यो मिसाइललाई ५ म्याचको हाइपरसोनिक गति दिने थियो । ग्लाइड बडी त्यसपछि अलग हुन्छ र आफ्नो लक्ष्य प्राप्त गर्न गति प्रयोग गर्दछ । पेन्टागनले पहिलो पटक हाइपरसोनिक मिसाइलको सम्पूर्ण प्रणालीको परीक्षण गरेको हो । अमेरिकी रक्षा मन्त्रालयले अनियमितताका कारण सम्पूर्ण प्रणालीको परीक्षण पूरा गर्न नसकेको बताएको छ ।

पेन्टागनले यो पूर्ण रूपमा असफल परीक्षण नभएको दाबी गरेको छ । रक्षा मन्त्रालयले मिसाइलमा के अनियमितता भएको भने स्पष्ट गरेको छैन । क्षेप्यास्त्रको कुन चरणमा यो समस्या भयो भन्ने पनि बताइएको छैन । पेन्टागनका प्रवक्ताले यस परीक्षणबाट प्राप्त जानकारी निकै महत्वपूर्ण रहेको बताए । उनले हाइपरसोनिक हतियार हाम्रा लागि उच्च प्राथमिकतामा रहेको र निर्धारित समयमै आक्रमण र रक्षाका लागि हाइपरसोनिक क्षमता हासिल गर्ने लक्ष्य हासिल गर्नेमा रक्षा मन्त्रालय विश्वस्त रहेको बताए ।

हाइपरसोनिक मिसाइल परीक्षण असफल हुनु अमेरिकाका लागि ठूलो झट्का हो । चीन, रुस र उत्तर कोरियाले हाइपरसोनिक क्षेप्यास्त्र तैनाथ गरे पनि अमेरिकी सेनाले अझै पनि यसको ब्रेक फेला पार्न सकेको छैन । युक्रेन युद्धमा रुसले पनि खुलेआम हाइपरसोनिक मिसाइल प्रयोग गरेको छ । हाइपरसोनिक मिसाइलहरू म्याच ५ को गतिमा उड्छन्, त्यसैले कुनै वायु रक्षा प्रणालीले तिनीहरूलाई हराउन सक्दैन । यही कारणले यिनलाई आधुनिक ब्रह्मास्त्र भनिन्छ ।

प्रकाशित मिति : असार १८, २०७९ शनिबार  ११ : ३० बजे