भाद्र १, २०७९ बुधबार | Thu Aug 18 2022

रावणको हुनु भन्दा पहिले भगवान शिवको थियो सुनको लंका, रावणले कसरी हत्याए ?



लंका भन्ने बित्तिकै रावणको सम्झना गरिन्छ । एक विशालकाय स्रामाज्य लंकाको विस्तार रावणले गरेका थिए । तर लंका कसरी बन्यो र कसरी रावणको हातमा पुग्यो होला ?

धनपति कुबेर रावणका सौतेनी भाइ थिए । कुबेरले लंकामा शासन गरेर त्यसलाई विस्तार गर्दै लगेका थिए । सबै देवताहरू सुन्दर दरबारहरूमा बस्दा देवादिदेव महादेव भने मसान घाटमा बस्ने गरेकाले माता पार्वतीले ईश्वरहरूका पनि परमेश्वर महादेवलाई बस्ने सुन्दर दरबारको आवश्यकता महशुस गरिन् । पार्वतीले जिद्दी गरेर महादेवलाई महलमा बस्न आग्रह गरिन् ।

महादेव बस्ने दरबार इन्द्रको भन्दा राम्रो र भव्य हुनुपर्ने माता पार्वतीको शर्त थियो । तर महादेव भने आफू योगी भएकाले दरबारमा आराम गर्न नसुहाउने बताएर पन्छिन खोजे । तर माता पार्वतीको जिद्दीका सामु महादेवले हार खाए र विश्वकर्मालाई बोलाए ।

विश्वकर्मालाई यस्तो दरबारको रचना गर्न भनियो जसको सौन्दर्य त्रिभुवनमा कतै नहोस् । विश्वकर्माले त्यस्तो दरबार बनाउने ठाउँको खोजी गर्न थाले । उनले चारै तिरबाट पानीले ढाकेको एक ठाउँ देखे जसको बीचमा तीन सुन्दर पहाडहरू थिए । त्यस पहाडमा विभिन्न प्रकारका फूल र वनस्पतिले भरिएका थिए । त्यो ठाउँ थियो लंका । विश्वकर्माले सोही लंकामा सुनको एक अद्भुत सहर निर्माण गरे ।

लंकाको विशाल शहर र भव्य महलमा गृहप्रवेशपछि महादेवले आचार्यहरूलाई दक्षिणा माग्न आग्रह गरे । महादेवकै मायाका कारण आचार्य विश्रावको मन प्रलोभित थियो र उनले दक्षिणामा लंका मागे । महादेवले विश्रवालाई लंका दान दिए । तर विश्रवाको दुस्साहस देखेर पार्वती रिसाइन् । पार्वतीले महादेवकै कुनै अंशले एकदिन यो दरबारलाई जलाएर खरानी बनाइदेओस् भनेर श्राप दिइन् । उनले कुल नाश होस् भनेर समेत श्राप दिएकी थिइन् ।

यस पौराणिक कथा अनुसार विश्रवाले त्यो दरबार पुत्र कुवेरलाई दिए र रावणले कुवेरबाट त्यो दरबार हत्याएर आफ्नो बनाए । श्रापका कारण शिव अवतार हनुमानले लंका जलाए । साथै विश्रवाका पुत्र रावण र कुम्भकर्णको कुलको नाश भयो । विभीषण भने श्रीरामको शरणमा भएकोले बच्न सफल भएका थिए ।

प्रकाशित मिति : असार १८, २०७९ शनिबार  ७ : ३३ बजे