श्रावण २५, २०७९ बुधबार | Wed Aug 10 2022

पेन्सिल जिन्दगी



तास्दै गएसी तीखो धार निस्किन्छ ।

अझै तास्दै जाँदा प्याट्ट भाँचिन्छ ।

 

फेरि भुत्ते हुन्छ पेन्सिल

फेरि तिखार्नु पर्छ ।

 

तिखार्नेले जसरी तिखार्दा नि हुन्छ

जुन औजार प्रयोग गरेर तिखारे नि हुन्छ

मुख्य कुरा तिखारिनु हो

भित्रको कालो सिसा तिखारिए पछि

लेखिने बन्छ पेन्सिल ।

 

तिखारिएकै पेन्सिल चाहिन्छ

अक्षर बन्न

अंक बन्न पनि

पेन्सिलले तिखारिनु पर्छ  ।

 

दुनियाँका एक से एक बादशाहको

तस्वीर कोर्न सक्छ पेन्सिल

निर्वस्त्र बनाएर युवतीको नग्न तस्वीर उतार्न सक्छ

युद्धमा छेदबिच्छेद चित्र कोर्नसक्छ

भोकमरीले सुक्दैगरेको जिउँदो कंकाल कोर्न सक्छ

खुनी साशकको बिरुद्ध आगो ओकल्न सक्छ

पेन्सिल बोल्न सक्छ ।

 

तिखारिनु-

छोटिनु हो

घोटिनु हो

तिखार्दा तिखार्दै एक दिन

निख्रिन्छ पेन्सिल ।

 

पेन्सिल निख्रिएको दिन

पेन्सिलको अस्तित्व ढलेन भने

सम्झिनु कि पेन्सिलले

आफ्नो इतिहास लेखेर गयो ।

(थेबाको भर्खरै लोकार्पण भएको कविता संग्रह मासिन्याबाट)

प्रकाशित मिति : असार १८, २०७९ शनिबार  ६ : ५३ बजे