श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

दासको कथा : एक प्रेरक प्रसङ्ग



त्यो बेला ग्रीसमा दास प्रथा चलेको थियो । सबै हट्टाकट्टा दासहरु किनबेच हुन्थे । एक दिन एक कन्जुस धनीले सस्तो दाममा एक कुरुप दास किनेर ल्यायो ।

दासलाई घरमा ल्याउनेबित्तिकै स्वास्नीको रिसको सीमा रहेन । यसको कारण थियो, दासको कुरुपता । उसको एउटा आँखा फुटेको थियो । दाँत भाँचिएको थियो । ढाडमा ठूलो कुम्लो उठेको थियो । अनुहार यति नमिलेको थियो कि बच्चाहरु पनि डराएर भाग्थे । स्वास्नीले लोग्नेलाई धेरै गाली गरी तर लोग्नेले केही भनेन किनकि गुलामको कुरुपताको कारणले उनीहरुले उसलाई सस्तोमा पाएका थिए ।

बिस्तारै त्यो दासले घरको सबै काम सम्हाल्न थाल्यो । बिहान सबेरै ऊ उठ्थ्यो, सफा गरेर भाँडा माझ्थ्यो । मालिक मालिक्नीको लागि चिलिम भर्थ्यो साथै साँझमा बच्चाहरुलाई फकाएर कथा सुनाउँथ्यो ।

केही दिनपछि त्यो धनी मानिसको घरमा त मानिसको भीड लाग्न थाल्यो । सबै त्यो दासको मीठो कथा सुन्न लालायित थिए । अब कोही पनि उसको अनुहार देखेर डराउँदैनथे । सबै उसले आज कस्तो शिक्षाप्रद कथा सुनाउने हो भनेर पर्खेर बस्थे ।

गुलामको कथाको ख्याति ग्रीसका बादशाहको कानमा पनि पुग्यो । आखिर एक दिन बादशाह पनि त्यो धनी मानिसको घरमा पुगे र उसको कथा सुन्न बसे ।

इनाम दिन लाग्दा उसले भन्यो, महाराज धन्यवाद, मेरो लागि उचित इनाम यही हुनेछ कि मैले सुनाएको कथा लेखेर एउटा पुस्तक बनाइयोस् ताकि म यो संसारबाट गइसकेपछि पनि बच्चाहरुसँगै बस्न सकूँ । उसको कुरा मानियो र छिट्टै दास ईसपको कथा घरघरमा पढिन थाल्यो ।

साभार :‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : असार १७, २०७९ शुक्रबार  ९ : २२ बजे