सबै चरणलाई पार गरिसकेपछि पनि सफलता तुरुन्तै हात लाग्दैन । यो प्रकृतिकै विधि विधान हो । बच्चा जन्मन बीजारोपणको समयदेखि ९ महिना पर्खनुपर्छ । अतः यहाँ कुर्नुको विकल्प छैन ।
भात पनि बसाल्नासाथ पाक्दैन । यहाँ पनि धैर्यपूर्वक प्रतीक्षाको विकल्प छैन । र, प्रतीक्षाको घडी अत्यन्त पीडादायक हुन्छ । त्यसैले परिणामभन्दा प्रक्रियामै रमाउन सक्नुपर्छ ।
प्रक्रियामै रमाउन सकिएन भने सफल भएर पनि मान्छे सधैँ पीडित रहन्छ । त्यसकारण आफू रमाउन नसक्ने क्षेत्रलाई लक्ष्य बनाउनै हुँदैन । अर्को शब्दमा भन्नुपर्दा या त जहाँ रमाइन्छ त्यसलाई आफ्नो लक्ष्य बनाउनुपर्दछ, या त निर्धारण गरिएको लक्ष्यमा नै रमाउन सिक्नुपर्छ ।
उदाहरणको लागि विश्वविख्यात अभिनेत्री मर्लिन मुनरोदेखि नोबेल पुरस्कार विजेता अर्नेष्ट हेमिङग्वेसम्मलाई लिन सकिन्छ । यिनै तथ्यलाई मध्यनजरमा राखी आइन्स्टाइनले भनेका हुन् कि आफ्नो कामलाई खेलझैँ रमाइलो पारामा खेल्न सक्नुपर्छ । परिणाम नआएसम्म कुनै पनि गुनासो नगरी काममै रमाइरहनु पर्दछ । यही सफलताको रहस्य हो ।
साभार : ‘नव सफलता शास्त्र २’ पुस्तकबाट
प्रतिक्रिया