श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

मानिसलाई धुम्रपानको लत छोड्न किन गाह्रो हुन्छ ?



काठमाडौँ– रोज अमेरिकाको टेक्सस राज्यको एक सहरमा हुर्किइन् । उनी १३ वर्षकी भएपछि उनले पहिलो पटक धुम्रपान गरिन् । रोजकी आमा एकदमै कडा स्वभावकी थिइन् । आमाले उनलाई सानैदेखि भन्ने गर्थिन्– तिमीले कहिल्यै धुम्रपान गर्नुहुँदैन ।

तर, जब उनले सुरु गरिन्, त्यसपछि एक दिन पनि धुम्रपान गर्न छोडिनन् । धुम्रपान गर्नकै लागि उनले बुबाको गोजीबाट पैसा चोर्ने गर्थिन । यति मात्र कहाँ हो र, विद्यालयका लागि घरबाट पठाउने खाजा खर्च समेत उनले चुरोटमा खर्च गर्थिन् ।

उनले सुरु गरेको ४५ वर्षसम्म निरन्तर धूमपान गरिन् । उनले दिनको करिब २ बट्टा चुरोट सक्थिन्  । तर एक दिन अचानक उनको खुट्टामा समस्या आयो । जब उनी उपचारका लागि अस्पताल गइन् डाक्टरले उनलाई धुम्रपानका कारण यो समस्या भएको बताए । यदि धुम्रपान नछाड्ने हो भने खुट्टा नै काट्नुपर्ने चेतावनी डाक्टरले दिए ।

त्यसपछि उनले धुम्रपान नगर्ने निधो गरिन् र छोडिन् पनि । तर, पुनः स्वास्थ्य परीक्षण गर्ने क्रममा उनलाई फोक्सोमा समेत क्यान्सर भएको भेटियो । उनलाई किमोथेरापी गर्नुपर्‍यो, उनको सर्जरी भयो । त्यसपछि उनको दिमागमा ट्युमर रहेको पत्ता लाग्यो । ‘हुने हार दैव नटार’ भनेझैँ,  क्यान्सर कै कारण ६० वर्षको उमेरमा उनको मृत्यु भयो ।

रोज एक प्रतिनिधि पात्र मात्र हुन् । संसारमा जति मानिस धुम्रपान गर्दछन्, अधिकांशलाई त्यसको असरबारे थाहा छ । सबैले बुझेका पनि छन् । कति त यस विषयका विज्ञ पनि छन् ।

प्रत्येक जसो देशका सरकारले यसबारे जनचेतना फैलाउने अनेकौँ अभियान र गतिविधीहरू सञ्चालन गरिरहेका हुन्छन् तर, पनि यी प्रयास ‘बालुवामा पानी’ जस्तै हुने गरेका छन् । अहिले पनि विश्वमा करिब १ अर्ब मानिसले धुम्रपान गर्ने गरेका छन् । यो तथ्याङ्कले पनि सरकारी प्रयासहरू प्रभावकारी नभएको देखाउँछ ।

त्यस्तै, बर्सेनि करिब ६० लाख मानिस धुम्रपानका कारण ज्यान गुमाउने गर्दछन् । एक रिर्पोट अनुसार सन् २०३० सम्ममा धुमपानका कारणले बर्सेनि ८० लाख मानिसको मृत्यु हुन सक्ने देखिएको छ । तर पनि किन मानिस धुम्रपान गर्न छाड्दैनन् त ? प्रस्तुत छ यसको जवाफको लागि बीबीसीले विज्ञहरूसँग गरेको कुराकानीको सार संक्षेप–

धूमपानको लत

स्वास्थ्य मनोचिकित्सक प्रा. रोबर्ट वेस्ट भन्छन्–म यसको विरोधी थिएँ तर एक दिन म आफैँले धुम्रपान गर्न सुरु गरेँ ।

उनले लेखेको पुस्तक द स्मोक फ्री फर्मुलामा उनले आफ्नी प्रेमिकाले भनेपछि धुम्रपान छोडेको बताएका छन् । यति हुँदाहुँदै पनि प्रेमिकासँगको उनको सम्बन्ध ३० वर्षपछि छुट्यो । तर उनी हालसम्म पनि मानिस किन धुम्रपान गर्न छाड्दैनन् भन्नेबारे बुझ्न खोज्दै छन् ।

अहिलेसम्म ठोस निष्कर्ष निकाल्न नसके पनि उनले सात्वनाको रूपमा सुर्तीको पातमा पाइने निकोटिन नै यसको दोष देखाएका छन् । यो रसायन चुरोट बाल्ने बित्तिकै बाहिर निस्कन्छ । उनी भन्छन्, जब तपाईँ चुरोटको धुवाँ शरीरमा लिनुहुन्छ, त्यसको केही समयमा नै निकोटिनले फोक्सोको छेउलाई समाउँछ र त्यसको केही सेकेन्डमै नै मस्तिष्कमा पुग्छ । त्यहाँ यसले स्नायु कोशिकासँग अन्तरक्रिया गर्छ र यसको प्रभावका कारण डोपमीन नामक रसायन बाहिर निस्कन्छ । र यसले मानिसको दिमागलाई केही राम्रो काम गरेबापत इनाम प्राप्त गर्न सक्ने सङ्केत दिने गर्दछ ।

निकोटिनको लत कतिसम्म खतरनाक हुन्छ भन्नेबारे उनी जान्न चाहन्थे । यसका लागि उनले एउटा धेरै धुम्रपान गरेको कारण घाँटीमा क्यान्सर भएको एक समूहको अध्ययन गरे । अध्ययनकै क्रममा ती सबैको कण्ठ नली काटेर निकाल्नुपरेको थियो । त्यसपछि उनको समूहले कण्ठ नलीमा प्वाल परिएको थियो । सोही प्वालबाट उनीहरू सास फेर्ने गर्दथे । प्रा. रोबर्ट भन्छन्, चुरोटमा भएको निकोटिनको लत प्रायजसो हेरोइन, कोकिन वा अफिमलगायत लागू औषधको लत जस्तो हुने गर्दछ । निकोटिनको लतलाई मस्तिष्कको एनिमल पार्ट भनिने भागबाट नियन्त्रण गर्न सकिने उनको भनाइ छ । रोबर्ट भन्छन्–कि चुरोटको लतलाई जित्नु भनेको एउटा युद्ध जस्तै हो ।

बायोकेमिस्ट डा. जेफ्री विगेन्ड भन्छन्, ‘मैले जे देखेँ त्यो अनैतिक, गैर कानुनी र नियम विपरीत थियो । म यो कुरा उनीहरूको मार्केटिङ र उत्पादनको बारेमा मानिसहरू माझ गरिएको अनुसन्धानको आधारमा भन्दै छु ।’

डा. जेफ्री वेगान्ड सन् १९९४ मा व्हिसल ब्लोअरको रूपमा बाहिर आए । उनले ठुला सुर्ती कम्पनीहरूको झुटको पर्दाफास गरे । यही कथामा हलिउडले इनसाइडर नामक चलचित्र बनाएको थियो । उनको कहानीको सुरुवात सन् १९८८ मा लुइसभिल, केन्टकी, अमेरिकामा भयो । जेफ्रीले ब्राउन एन्ड विलियम्सन टोब्याको कम्पनीमा लाखौँ डलर तलब लिएर शीर्ष कार्यकारीको पद पाएका थिए ।

उनी स्वास्थ्यको क्षेत्रमा काम गरेका ‘बायोकेमिस्ट’ थिए । उनले धूमपानको खतरामा कम्पनीको अडानलाई भ्रमपूर्ण पाए र यसबारे प्रश्न गर्न थाले । उनी भन्छन् कि कम्पनीभित्र यी उत्पादनले प्रयोगकर्ताहरू र वरपरका मानिसलाई मार्न सक्छ । यसले लत पनि बसाउँछ भन्ने स्पष्टै थियो ।

तर, कम्पनीले बाहिरी संसारलाई अर्कै कथा सुनाउँदै थियो । डा. जेफ्री भन्छन्, कम्पनीले बाहिरी संसारलाई यो उत्पादन सुरक्षित छ । यसले कुनै हानी गर्दैन र ‘यदि तपाईँ यसको सेवन गर्नुहुन्छ भने, आफ्नै विवेकमा गर्नुहोस्’ भन्ने गरेको थियो ।

पाँच वर्षसम्म, जेफ्रीले त्यसबारे प्रश्नहरू सोधिरहे र रहस्य खोल्दै गए । अन्त्यमा  एक दिन उनलाई बर्खास्त गरियो र चुप लाग्न निर्देशन दिइयो । त्यसको एक वर्ष पछि सन् १९९४ मा उनका पूर्व मालिकलगायत विश्वका सात ठुला सुर्ती कम्पनीका सीईओहरूले सत्य बोल्ने वाचा गरे । तर, अमेरिकी संसदको अगाडि उनीहरूले झूट बोले ।

त्यसपछि जेफ्रीले संसारलाई सत्य बताउन निर्णय गरे । उनी भन्छन्, “मलाई ‘ह्विसिल ब्लोअर’ भनियो । त्यसपछि सबै समस्या सुरु भयो । मलाई दुई पटक मेलबाट छोराछोरीलाई मार्ने धम्की समेत आयो । मेरो घरबाहिर मिडिया भेला भएका थिए । उनी भन्छन्, सुर्ती उद्योगसँग जोडिएका कम्पनीहरू उनीहरूको उत्पादन कत्तिको हानिकारक छ भन्नेबारे थाहा हुुुुुुुुुँदै पनि आफ्नो उत्पादन बेचेर जति पैसा पाउँथे त्यो सबै पैसाले मार्केटिङ गर्ने गर्थे ।

अर्का अनुसन्धानकर्ता कार्ल लेजवेले धुम्रपानको लत भएका मानिसहरूमा अध्ययन गरे । उनी र उनका टिम धुमपानको कारण शरीरमा हुने समस्याबारे सम्पूर्ण जानकारी भएका मानिसको बारेमा जान्न चाहन्थे । कार्ल लेजवे  भन्छन्, हामीले एक गेम बनायौँ । उक्त गेम कम्प्युटरबाट तयार पारिएको बेलुनमा आधारित थियो । त्यस गेममा बेलुन फुलाएबापत पैसा दिने गरिन्थ्यो । जसले जति ठुलो बेलुन फुलाउन सक्यो उसले त्यति नै धेरै पैसा कमाउँथ्यो । तर अन्तिममा बेलुन फुटन सक्थ्यो ।

कार्लको टिमले गरेको अनुसन्धानको क्रममा धुम्रपान नगर्नेको तुलनामा धुम्रपान गर्नेहरूले बेलुनलाई धेरै फुलाउन सकेका थिए । उनकाअनुसार सो अध्ययनबाट धुम्रपान गर्नेहरु जस्तोसुकै जोखिमको सामना गर्न पनि तयार रहने मात्र नभएर कुनै पनि कुराका लागि उनीहरू जुनसुकै हदसम्म जान सक्छन् भन्ने पनि साबित भयो । उनकी आमालाई पनि करिब ३ वर्ष अघि फोक्सोको क्यान्सर भएको थियो । त्यो ठिक भयो तर उनलाई पुनः मस्तिष्क क्यान्सर भयो । यस कारण उनले यस प्रकारको दुःखलाई नजिकबाट महसुस गर्न सक्ने उनी बताउँछन् ।

अन्त्यमा पुनः यही प्रश्न–मानिसहरू आखिर किन धुम्रपानको लत त्याग्न सक्दैनन् ? विज्ञहरूको सल्लाह सुझाव र भनाई अनुसार धुमपान मानिसका लागि आफ्नो तनावले भरिएको जीवनबाट केही हदसम्म छुटकारा पाउने तरिका हो । कतिपयका लागि भने धुम्रपानआफ्नो पहिचान देखाउने माध्यम पनि हो । सबभन्दा महत्त्वपूर्ण कारण भनेको धुम्रपान गर्ने मानिसलाई निकोटिनको लत लाग्छ र यो लत हेरोइनको लतभन्दा पनि खतरनाक हुने गर्दछ ।

बीबीसी हिन्दीको यो सामग्री ङिमु शेर्पाले भावानुवाद गरेकी हुन् ।

प्रकाशित मिति : असार १७, २०७९ शुक्रबार  ९ : ४९ बजे