भाद्र १, २०७९ बुधबार | Thu Aug 18 2022

बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको विषय छानबिन हुनुपर्छ : नेम्वाङ



काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका उपनेता तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको विषय छानबिन हुनुपर्ने बताएका छन् ।

आज (बिहीबार) ६४ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेम्वाङले सांसदले यस्तो गम्भीर विषय उठाउँदा पनि त्यसै छाड्दा संसद् कमजोर हुँदै जाने बताए । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्ने क्रममा अर्थ मन्त्रालयकै भन्सार विभागबाट २०७५ फागुन १ गते नायबसुब्बा पदबाट राजीनामा दिएका रघुनाथ घिमिरेलाई जेठ १४ गते मध्यराति बजेटमा हेरफेरमा संलग्न गराएको विपक्षी दलका नेताहरुले आरोप लगाउँदै आएका छन् ।

अर्थमन्त्री शर्माले घिमिरे कार्यकक्षमा पस्ने बित्तिकै चुकुल लगाउन निर्देशन दिएर मन्त्रालयका कर्मचारीलाई घिमिरेले भनेअनुसार गर्न अह्राएको आरोप प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगाउँदै आएको छ । । सोहि विषयलाई लिएर एमालेले अर्थमन्त्री शर्माको राजीनामा माग गरेको छ ।

यस्तै नेता नेम्वाङले एसपीपीबारे अहिलेसम्म अमेरिकालाई लेखेको सबै पत्र संसदमा ल्याउन प्रधानमन्त्रीलाई माग गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको १५ औं दिनमा सेनाबाट अमेरिकालाई पत्र लेखिएको उनले बताए । तर, उक्त चिठीबारे तत्कालीन प्रधानमन्त्री ओलीलाई कुनै जानकारी नभएको उनले बताएका छन् ।

‘एसपीपीलाई लिएर प्रधानमन्त्री भएको १५ औं दिनमा सेनाबाट एउटा चिठी गएछ । त्यो ठिक हो कि होइन,’ नेम्वाङले भने, ‘त्यो प्रश्न उठ्ने बित्तिकै ओलीले नै केपी ओलीले लेखेको भन्ने भो । अचम्मको कुरा होइन भन्छु म । उहाँले पनि मैले लेख्न लगाएको होइन भन्नुभयो ।’ उक्त पत्र यतिकै झुण्डिएर बस्न नहुने नेम्वाङले बताएका छन् ।

प्रकाशित मिति : असार १६, २०७९ बिहीबार  १ : २५ बजे