आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

जसपा विवाद : बाबुराम र उपेन्द्रबीच ‘निर्णायक’ वार्ता हुँदै



काठमाडौँ – विभाजनको डिलमा पुगेको सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवबीच आज (बिहीबार) निर्णायक भेटवार्ता हुने भएको छ ।

उनीहरुबीच आज दिउँसो १ बजे भेटवार्ता हुने जसपाका एक कार्यकारिणी सदस्यले जानकारी दिए । उनका अनुसार यादव र भट्टराईबीच हिजो पनि भेटवार्ता भएको थियो । सिहंदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा भएको भेटमा पार्टीको विवाद समाधान गर्ने गरी कसरी अघि बढ्ने भन्नेबारेमा छलफल भएको जनाइएको छ ।

यही असार १३ गते भएको यादव पक्षको बैठकले भट्टराईसहित चार नेतालाई स्पष्टीकरण माग्ने निर्णय गरेको थियो । त्यसपछि बढ्दै गएको जसपा विवाद निर्णायक मोडमा पुगेको ती कार्यकारिणी सदस्यले बताएका छन् ।

उपेन्द्र यादव पक्षीय बैठकले डा. बाबुराम भट्टराई, कृषिमन्त्री महेन्द्र राय यादव, केन्द्रीय कार्यकारिणी सदस्य गंगानारायण श्रेष्ठ अर्का एक नेतालाई पार्टीविरुद्ध गतिविधि गरेको भन्दै स्पष्टीकरण माग्ने निर्णय गरेको हो । जसपाको कार्यकारिणी समितिमा ३२ सदस्य छन् ।

प्रकाशित मिति : असार १६, २०७९ बिहीबार  १२ : ०४ बजे