श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

माता पार्वतीमा नजर लगाएपछि महादेवले गरेका थिए जालन्धरको बध, यस्तो छ कथा



स्कन्द पुराण अन्तर्गतको केदारखण्ड माघ महात्म्य अर्थात् श्रीस्वस्थानीको किताबमा जालन्धर नामका एक पात्रको बारेमा चर्चा पाइन्छ । भगवान शिव र जालन्धरको युद्धमा शिवले जालन्धरलाई हराएको श्रीस्वस्थानीमा कथा छ । तर जालन्धर को थियो ? यो कसरी उत्पति भयो भन्ने बिषयमा किताबमा चर्चा गरिएको छैन । आखिर को थियो, जालन्धर ?

देवी भागवत पुराणका अनुसार भगवान शिवले आफ्नो तेज समुद्रमा फ्याँक्दा जालन्धरको उत्पत्ति भएको थियो । जालन्धर शक्तिशाली थियो । इन्द्रलाई समेत पराजित गर्न सफल जालन्धरले तीनै लोक हात पारेको थियो । उसलाई यमराज समेतको डर थिएन ।

जालन्धरमा अपार शक्ति थियो । यो शक्ति उसकी पत्नी वृन्दाका कारण भएको श्रीस्वस्थानी व्रत कथामा बताइएको छ । वृन्दाको पतिव्रता धर्मका कारण सम्पूणर् देवीदेवता मिलेर पनि, यहाँसम्म कि त्रिदेवले समेत जालन्धरलाई केही गर्न सक्दैनथे । उसलाई आफ्नो यहि शक्तिको घमण्ड थियो । यस्तोमा उ देवताको पत्नीमा समेत कुदृष्टि राख्थ्यो ।

जालन्धरमा सम्पूणर् ब्रह्माण्डमा शासन जमाउने चाह थियो । त्यसैले उसले सर्वप्रथम इन्द्रलाई हरायो । त्यसपछि विष्णु लोकमा आक्रमण गरेर माता लक्ष्मीलाई हत्याउने विचार गर्‍यो । यसै योजना अनुरूप उसले बैकुण्ठमा आक्रमण पनि गर्‍यो । तर माता लक्ष्मीले जालन्धरलाई आफूहरु दुवै समुद्रबाट उत्पत्ति भएका हुनाले दिदीभाइ भएको सम्झाइन् । यो सुनेर जालन्धर प्रभावित भयो र उसले लक्ष्मीलाई दिदी मानेर बैकुण्ठबाट फक्र्यो ।

यसैगरी एक पटक उसमा माता पार्वतीलाई आफ्नो बनाउने विचार आयो । जालन्धर कैलाश गएर माता पार्वतीको सामु पर्नासाथ माताको सुन्दरताबाट मुर्छित भयो । जब यो कुरा माता पार्वतीले चाल पाइन् उनी क्रोधित भइन् र महादेवलाई यो कुरा सुनाइन् । अन्ततः महादेव र जालन्धर युद्धमा होमिए । तर वृन्दाको पतिव्रता धर्मका कारण महादेवको आक्रमणको असर जालन्धरमा भएन ।

अन्ततः देवताहरुले योजना बनाई वृन्दाको पतिव्रता धर्म नष्ट गर्ने विचार गरे । सोहीअनुसार भगवान विष्णु जालन्धरको भेष धारण गरी वृन्दा भए ठाउँमा गए । वृन्दाले विष्णुलाई आफ्नो पति जालन्धर ठानिन् र रातमा विष्णुले वृन्दासँग समागम गरेबाट वृन्दाको पतिव्रता धर्म नाश भयो । जसका कारण महादेवले प्रहार गरेको त्रिशूलले जालन्धर मर्‍यो । विष्णुद्वारा सतीत्व भङ्ग भएर पतिको मृत्यु भएको थाहा भएपछि वृन्दाले विष्णुलाई श्राप दिइन् । यहि श्रापका कारण विष्णु पीपल, तुलसी, कुश र शालिग्राम बन्नु परेको हो ।

तर अर्को मान्यता अुनसार तुलसी उत्पन्न हुनुमा फरक कथा छ । जस अनुसार विष्णु गएपछि वृन्दाले आत्मदाह गरिन् । उनको खरानीमाथि तुलसीको बोट उम्रियो । तुलसी देवी वृन्दाको स्वरूप भएका कारण यो विष्णुका लागि अत्यन्त प्रिय छ । भारतको पञ्जाब प्रान्तमा जालन्धर नामको एउटा शहर आज पनि छ । जुन पहिले जालन्धरको राजधानी भएको विश्वास गरिन्छ । त्यही सहरमा जालन्धरकी पत्नी वृन्दाको मन्दिर पनि छ ।

प्रकाशित मिति : असार १६, २०७९ बिहीबार  ६ : ५४ बजे