आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

प्रेस युनियनमा आठ बर्षदेखि नभएको महाधिवेशनको चहलपहल, उम्मेदवारी घोषणा गर्ने लहर



काठमाडौँ– नेपाली कांग्रेस निकट पत्रकारको संगठन नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको चहलपहल बढेको छ । ८ बर्षदेखि हुन नसकेको र पटकपटक मिति तोक्दै सर्दै आएको महाधिवेशन आगामी साउन ६ र ७ गते हेटौँडामा गर्ने गरि घोषणा गरिएको छ ।

युनियनको संस्थापक पक्षले महाधिवेशन गर्न आलटाल गरेको भन्दै असन्तुष्ट समुहले बेग्लै मिति घोषणा गरेपछि दुवै पक्षले सहमतिमा नयाँ मिति तय गरेका हुन् । तोकिएकै मितिमा महाधिवेशन गर्ने गरि तयारी अघि बढिरहेको अध्यक्ष बद्री सिग्देलले बताए । युनियनको महाधिवेशन यस पटक भने स्थगित नहुने उनको दाबी छ । ‘अब महाधिवेशन स्थगित हुँदैन’ अध्यक्ष सिग्देलले क्यानडा नेपालसँग भने, ‘यसभन्दा पहिला पार्टीको महासमितिको बैठक, संघीय निर्वाचन, कोरोना र स्थानीय तहको निर्वाचन लगायत कारणले चाहेर पनि अधिवेशन सम्पन्न गर्न नसकेको हो । अब अधिवेशन स्थगित हुनुपर्ने कुनै कारण छैन ।’

अहिले सदस्यता र पार्षदको नामावली संकलनको काम भइरहेको छ । धेरै जिल्लाबाट पार्षदको नाम आइसकेको र केही जिल्लाको आउने क्रममा रहेको उनले बताए । असार २० गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने उनको भनाइ छ । विवाद रहेका दैलेख र काभ्रेमा पनि अहिले विवाद समाधान भएर प्रतिनिधिको नामावली आइसकेको अध्यक्ष सिग्देलले बताए । साउन ७ गते रातिसम्म महाधिवेशनको सबै काम भइसक्ने उनको भनाइ छ ।

नवौँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि तयारी भइरहेको पनि अध्यक्ष सिग्देलले जानकारी दिए । ‘हामी सर्वसम्मत नेतृत्व चयनको तयारीमा छौँ ।’ उनले भने, ‘नेपाल प्रेस युनियन नेपाली कांग्रेसको सुभेच्छुक संस्था भएको र अहिले पार्टी आमनिर्वाचनको नजिकै भएकाले राम्रो सन्देश दिनका लागि पनि नेतृत्व सर्वसम्मत चयन गर्ने तयारीमा रहेका हौँ ।’ सर्वसम्मत नेतृत्व चयन हुन नसके निर्वाचनमा जाने अध्यक्ष सिग्देलको भनाइ छ ।

उम्मेदवारी घोषणा गर्नेको लहर
२०७१ सालमा पोखरामा भएको युनियनको आठौँ महाधिवेशन यता अर्को महाधिवेशन हुन सकेको छैन । २०७१ साल भदौमा पोखरामा भएको आठौँ महाधिवेशनपछि अहिलेसम्म अर्को महाधिवेशन हुन सकेको छैन । विभिन्न कारण देखाउँदै त्यसयता दुईवटा महाधिवेशनको समय धकेलिएपछि नेतृत्व जाम भएको छ भने आकांक्षी बढेका छन् । महाधिवेशनको संशयकाबीच फेसबुकलगायत सामाजिक सञ्जालमा उम्मेदवारी घोषणा गर्ने लहरै चलेको छ ।

अहिलेसम्म अध्यक्षमा शिव लम्साल, दिपक आचार्य र सरोज अधिकारीले उम्मेदवार बन्ने बताएका छन् । लम्साल यसअघिको अधिवेशनमा बद्री सिग्देलसँग अध्यक्षमा पराजित भएका हुन् । आचार्य अहिलेका बरिष्ठ उपाध्यक्ष हुन् । त्यस्तै अधिकारी अहिलेका कोषाध्यक्ष हुन् । अधिकारी संस्थापन तथा लम्साल र आचार्य इतर पक्षका नेता हुन् । अध्यक्षमा अनिता बिन्दु र रामप्रसाद दाहालको नाम पनि चर्चामा छ । यसबारेमा उनीहरुले चाहिँ मुख खोलिसकेका छैनन् । विन्दु उनी यसअघि युनियन र नेपाल पत्रकार महासंघको उपाध्यक्ष थिइन् । दाहाल यसअघि महासंघको सचिव थिए ।

महासचिवमा धेरै आकांक्षी देखिएका छन् । अहिलेसम्म खिला कार्की, नकुल अर्याल, रमेश वाग्ले, दिलीप पौडेल विमल ज्ञवालीलगायतले उम्मेदवारी घोषणा गरेका छन् ।

कार्की अहिलेको कार्यसमितिका सचिव हुन् । समयमै महाधिवेशन गराउनुपर्छ भनेर आवाज उठाउँदै आएका उनले अवधि नाघेको केन्द्रिय समिति नै अवैध भएको भन्दै पदबाट राजिनामा दिएको घोषणा गरेका थिए । अर्याल युनियनको काठमाडौँ अध्यक्ष र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भइसकेका पत्रकार हुन् । वाग्ले र पौडेल अहिलेको समितिका केन्द्रिय सदस्य हुन् । उनीहरु पनि समयमै अधिवेशन गराउनुपर्ने पक्षमा बोल्दै आएका छन् ।

यस्तै बरिष्ठ उपाध्यक्षमा लिलाराज खनाल र निरज खतिवडाले उम्मेदवारी घोषणा गरेका छन् । कार्यवहाक महासचिव भिष्मराज ओझा पनि बरिष्ठ उपाध्यक्षको तयारी गरिरहेका छन् । उपाध्यक्षमा ऋषिकान्त पौडेलले उम्मेदवारी दिने बताएका छन् । अहिलेका उपमहासविच सलोजा दाहाल, केन्द्रिय सदस्य दिलिपाश्री अधिकारी र कल्पना शर्माले  महिला उपाध्यक्षको तयारी गरिरहेका छन् ।

यस्तै, उपमहासचिवमा युवराज गौतम र भुवन शर्माले उम्मेदवारी घोषणा गरेका छन् । सचिवमा खगेन्द्र भण्डारी, तिर्थराज बस्नेत, एलपी देवकोटा, मेनुका ढुङ्गानालगायतले उम्मेदवारी घोषणा गरेका छन् । कोषाध्यक्षमा माधव धितालले उम्मेदवारी दिने बताएका छन् । थप नेताहरूले पनि छिट्टै उम्मेदवारी घोषणा गर्ने तयारी गरिरहेको बताएका छन् ।

प्रकाशित मिति : असार १६, २०७९ बिहीबार  ८ : २२ बजे