श्रावण २८, २०७९ शनिबार | Sat Aug 13 2022

प्रकाशकी रेनु लेख्छिन्–प्रदीपको मेहनतबाट प्रभावित छु



काठमाडौं– नेपाली फिल्ममा ‘स्टार’ कहलिएका अभिनेता तथा अभिनेत्रीसँग जोकोही स्क्रिन शेयर चाहन्छन् । अझ रंगमञ्चमा संघर्षरत कलाकारका लागि त यस्तो सहकार्य विशेष हुन्छ । फिल्म ‘प्रकाश’मार्फत नेपाली रजतपटमा पाइला चालेकी नवअभिनेत्री रेनुनाथ योगीका लागि अहिले यस्तै उत्साह छ ।

उनले आगामी भदौ १० गतेबाट रिलिज हुन लागेको फिल्म ‘प्रकाश’मा अभिनेता प्रदीप खड्कासँग सहकार्य गर्दैछिन् । उनले सोमबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै फिल्म र यसको टिमसँगको सहकार्यको अनुभव साटेकी छन् ।

‘एउटा कलाकार र ‘स्टार’को बिचमा के भिन्नता होला?“ यो प्रश्न सधैं जसो मेरो मन–मस्तिष्कमा उब्जने गर्थ्याे। रंगमञ्चदेखि चलचित्रसम्मको मेरो अभिनय यात्रामा, मैले थुप्रै असल सहकर्मी कलाकार र गुरुहरुसँग काम गर्ने र सिक्ने मौका पाएकी छु । यो आफैमा एउटा सौभाग्य पनि हो । तर, प्रकाश चलचित्रमा काम गर्दा भने मैले बिलकुलै नयाँ अनुभव बटुल्ने मौका पाएकी छु भन्दा फरक नपर्ला’, उनले लेखेकी छन् ।

उनी अगाडि लेख्छिन्, ‘झट्ट परबाट हेर्दा धेरै प्रश्नहरु उब्जिएका थिए ‘के स्टारहरु पनि हामी जस्तै मेहनत र संघर्ष गर्न नडराउने, जुझारु कलाकारहरु होलान् र?’ वा ‘ती छुट्टै भुगोलबाट उछिट्टिएका अलग्गै जीवहरु हुन्?’ सञ्चार माध्यमदेखि दर्शकसम्मले ‘स्टार’ मानिसके पछि त धेरैलाई शिखर चुमिसकेको र सायदै त्यहाँ टिकिराख्न थप केही गर्नु पर्छ भन्ने भ्रम हुने थियो होला । तर, प्रदिप खड्कासँग जोडी बाँधिएर सहकार्य गर्दा, मेरो सबै प्रश्नहरुको उत्तर मैले आफै पाएँ । सुरुवातदेखि नै कथा, पात्र र चलचित्रलाई नै लिएर वहाँको उत्साह, मेहनत अनि लगन देखेर म आफै पनि निकै प्रभावित भएकी छु ।’

रेनुले अनुप बराल, निर्देशक दिनेश राउत, दिया मास्के, प्रदिप खड्का ,प्रकाश घिमिरेले आफूलाई सहजै फिल्ममा अपनाएको स्मरण गर्दै आफूलाई कहिल्यै पनि फरक माध्यममा काम गरिरहेको अनुभव नभएको उल्लेख गरेकी छन् । ‘एउटा राम्रो चलचित्र बनाउने उद्देश्यसहित हामी सबैले मिलेर जुन उत्साह र जाँगरका साथ काम गरेका छौं, मलाई लाग्छ यो कलाकारको रुपमा मेरो लागि एउटा थप ‘माइलस्टोन’ हो। चलचित्र प्रकाश पनि दर्शकहरुका लागि ‘माइलस्टोन’ बनोस, हाम्रो प्रयास यति नै हो ।’, उनले लेखेकी छन् ।

प्रकाशित मिति : असार १३, २०७९ सोमबार  ५ : ०४ बजे