श्रावण २८, २०७९ शनिबार | Sat Aug 13 2022

जोनीसँग माफी माग्दै डिज्नीको ३०१ मिलियन डलरको अफर



लसएञ्जल्स– हलिउड स्टार जोनी डेप अदालती मुद्धा जितेपछि चर्चामा छन् । यो मुद्धाका कारण उनले व्यक्तिगत र व्यावसायिक जीवनमा निकै नोक्सानी व्यहोर्नुपर्यो । यहीकारण उनले कैयौं प्रोजेक्ट गुमाउनु पर्यो ।

हालैमात्र डिज्नी स्टुडियोले डेपलाई ‘पाइरेट्स अफ क्यारेबियन’ फ्रेञ्चाइजीमा उनको ‘आइकोनिक चरित्र’ क्याप्टेन ज्याक स्पेरोका लागि ३०१ मिलियन डलरको प्रस्ताव अफर गरेको खबर सार्वजनिक गरेको छ । यो अफरसँगै डिज्नीले उनीसँग माफी पनि मागेको छ ।

माउस हास कम्पनी निकट स्रोतका अनुसार कर्पोरेटले अभिनेतालाई उपहारसँगै पत्र पनि पठाएको छ । स्टुडियोले ‘पाइरेट्स अफ क्यारेबियन’का ज्याक स्पेरोका लागि एक ड्राफ्ट पनि तयार पारेका छन् । स्टुडियोले जोनीले माफीलाई स्वीकार्दै आइकोनिक चरित्रमा फर्कने आशा व्यक्त गरेका छन् ।

यो मामलामा अहिलेसम्म जोनी या उनको टिमले कुनै आधिकारिक पुष्टि गरेका छैनन् । यद्यपि जोनीले केही समय अघि आफू ‘पाइरेट्स अफ द क्यारेबियन’मा ज्याक स्पेरोको भूमिकामा नफर्कने घोषणा गरेका थिए । उनले स्टुडियोले त्यो चरित्रका लागि जति नै रकम दिए पनि आफूले अभिनय नगर्ने खुलासा गरेका थिए ।

डेपमाथि उनकी पूर्व पत्नी एम्बर हर्डले घरेलू हिंसाको मुद्धा दर्ता गराएकी थिइन् । यसपछि अभिनेताले हर्डमाथि मानहानीको मुद्धा दायर गरे । मुद्धामा एम्बरले जोनीविरुद्ध दुर्व्यवहार र मानसिक उत्पीडनको पनि दाबी गरेकी थिइन् । जसकारण डेपलाई कैयौं फिल्मले लिन अस्वीकार गरेका थिए । उनलाई ‘फेन्टास्कि बीस्ट ३’ र ‘पाइरेट्स अफ क्यारेबियन’ जस्ता फिल्म सिरिजका निर्माताले पनि फ्रेञ्चाइजीमा हिस्सा बनाउन अस्वीकार गरेका थिए ।

प्रकाशित मिति : असार १३, २०७९ सोमबार  ११ : ४० बजे