आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

सिद्धूको अन्तिम गीत भारतमा प्रतिबन्ध



मुम्बई—लोकप्रिय पञ्जाबी गायक सिद्धू मूसेवालाको अन्तिम गीत ‘एसवाइएल’लाई युट्युबले भारतमा प्रतिबन्ध लगाएको छ । केन्द्रीय सरकारले उक्त गीत प्रतिबन्ध लगाउन भनेपछि युट्युबले यो निर्णय लिएको हो ।

सिद्धूको यो गीत सतलज यमुना लिंक नहरमा आधारित छ । यसलाई लिएर पञ्जाब र हरियाणाको बीच ४० वर्षदेखि विवाद चलिरहेको छ । यो गीतका कारण उक्त विवादमा अरु बढोत्तरी हुनेमा आशंका गरिएको थियो । यसलाई मध्यनजर गर्दै भारत सरकारले युट्युबमा यो गीतविरुद्ध उजुरी दिएको थियो । यसपछि युट्युबले यो कदम उठाउँदै भारतमा गीतमा प्रतिबन्ध लगाएको हो ।

युट्युबको यो निर्णयमा अलग—अलग प्रतिक्रिया आइरहेको छ । ट्वीटरमा कैयौं मानिसले आफ्नै हिसाबले प्रतिक्रिया दिइरहेका छन् । एक प्रयोगकर्ताले ‘सिद्धू मूसेवालाको गीत उनको निधन पछि रिलिज भएको थियो । यसलाई युट्युबबाट हटाएको छ’ भन्दै लेखेका छन् ।

यस्तै अर्का प्रयोगकर्ताले लेखेका छन्,‘युट्युब इण्डियाले सिद्धू मूसेवालाको गीत हटाएको छ । यो रमाइलो छ कि कसरी यस्तो कम्पनी खेलौना जसरी काम गर्छ । तपाईंहरुको आवाजलाई दबाउन सकिँदैन ।’

गायक सिद्धूको केही साता अघि पञ्जाबमा गोली हानी हत्या गरिएको थियो । उनको हत्याको अघिल्लो दिन पञ्जाब सरकारले उनलाई दिइएको सुरक्षाकर्मी फिर्ता बोलाएको थियो ।
—दैनिक जागरण

प्रकाशित मिति : असार १२, २०७९ आइतबार  १० : ४९ बजे