भाद्र १, २०७९ बुधबार | Thu Aug 18 2022

स्थानीय तह चुनाव परिणामले एमालेलाई शुभ संकेत दिएको छ : शंकर पोखरेल



काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले स्थानीय तहको चुनावी नतिजाले एमालेलाई शुभ संकेत गरेको बताएका छन् । आज (शनिबार) नेपाल मुस्लिम इत्तेहाद संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन् ।

सत्तारुढ दलहरुले गठबन्धन गरेका स्थानमा एमालेले बढी भोट ल्याएको भन्दै उनले यसलाई राम्रो संकेतका रुपमा लिनु पर्ने बताए । ‘एक्लाएक्लै चुनाव लडेको ठाउँको तुलनामा, सत्ता पक्षले आंशिक गठबन्धन बनाएको ठाउँमा हाम्रो भोट अलिक बढेको छ । पाँच दलीय गठबन्धन भएको ठाउँमा हाम्रो भोट निकै बढेको छ । जहाँजहाँ पाँच दलीय गठबन्धन बन्यो त्यहाँ हाम्रो भोट ४१ प्रतिशत पुगेको छ । एउटा पार्टीको भोट यति पुग्नु भनेको असाधारण लोकप्रियता हो भन्ने बुझ्नुपर्छ,’ पोखरेलले भने ।

गत स्थानीय चुनावले गठबन्धन गरेर एमालेलाई हराउन सकिन्छ भन्ने मान्यतालाई समेत गलत सावित गरिदिएको उनले बताए । उनले भने, ‘मिल्ने बित्तिकै एमालेलाई हराउन सकिन्छ भन्ने जे मान्यता उनीहरु (गठबन्धनका दल) ले खडा गर्न लागेका थिए, त्यो यस पटकको चुनावमा हाम्रो कार्यकर्ता पंक्तिले गलत सावित गरिदिएको छ । १-२ प्रतिशत मात्र हाम्रो भोट बढाउने हो भने हामीले स्वभाविक रुपमा चुनाव सजिलै जित्न सक्ने आधार तयार गर्न सक्छौं भन्ने मलाई लाग्छ ।’

प्रकाशित मिति : असार ११, २०७९ शनिबार  ४ : ४० बजे