भाद्र १, २०७९ बुधबार | Thu Aug 18 2022

नागरिकता विधेयक पारित भए नेपालका जनता अल्पमतमा पर्छन् : चित्रबहादुर केसी



काठमाडौँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले नागरिकतासम्बन्धी विधेयक पारित भए नेपाली जनता अल्पमतमा पर्ने बताएका छन् ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो विधेयक अघि बढाउन नहुने बताए । सरकार नागरिकतासम्बन्धी विधेयक पारित गराउने तयारीमा रहेको बताउँदै यो देशको हितमा नहुने औंल्याए । उनले नेपालमा जनसांख्यिक आक्रमण गरेर नेपालीलाई अल्पमतमा पार्न नमिल्ने बताए ।

उनले भने, ‘अहिले ल्याएको नागरिकतासम्बन्धी विधेयक पारित गराउने हो भने नेपालका जनता चाहिँ अल्पमतमा पर्ने र अङ्गीकृत नागरिक (विदेशबाट) नेपाल आएकाहरू बहुमतमा हुनेछन् । हामीले यो कुरा फिजीमा देखेका छौं । नागरिकतासम्बन्धी पटक-पटक सर्वोच्चले पनि निणर्य गरेको छ । सत्ता स्वार्थलाई पूरा गर्नको लागि यस्तो काम गर्नु हुँदैन । ०७२ को संविधानमा केही त्रुटि भएको भए पनि त्यसलाई सच्याएर जानुपर्छ । वैवाहिक अङ्गीकृतका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था पारित गर्नु हुन्न । यो हाम्रो पार्टीको माग हो ।’

अध्यक्ष केसीले नागरिकले नागरिकता पाउने विषयमा आफूहरूको विरोध भने नरहेको बताएका छन् । केसीले वंशजको नागरिकता दिनको लागि आमा पनि वंशज र बुवा पनि वंशज हुनुपर्ने आफूहरूको अडान रहेको सुनाए ।

प्रकाशित मिति : असार ११, २०७९ शनिबार  ४ : १७ बजे