भाद्र १, २०७९ बुधबार | Thu Aug 18 2022

पौडी खेल्ने क्रममा डुबेर दुई किशोरको मृत्यु



धनकुटा – धनकुटा नगरपालिका ६ पात्ले खोलास्थित एक पोखरीमा पौडी खेल्ने क्रममा डुबेर शनिबार मध्याह्न दुई किशोरको मृत्यु भएको छ । पोखरिमा डुबेपछि सिकिस्त बनेका उनीहरूको उपचारको क्रममा शनिबार मृत्यु भएको हो ।

धनकुटा एग्रो टुरिजम एन्ड फनभ्यालीमा रहेको पोखरीमा पौडी खेल्ने क्रममा धनकुटा ५ का १५ वर्षीय स्वर्णिम राई र धनकुटा २ घर भई धनकुटा ७ मा डेरा गरी बस्ने उदय राई डुबेका थिए । त्यसपछि उनीहरूलाई शनिबार नै उद्धार गरी जिल्ला अस्पताल धनकुटा पुर्‍याइएको थियो ।

उदय राईको जन्मदिन मनाउन साथीहरूसँग उक्त स्थानमा गएका उनीहरू पौडी खेल्ने क्रममा पोखरीमा डुबेको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए ।

पौडी खेलेको केही बेरमै दुवै जना डुबेपछि आफूले स्थानीयलाई खबर गरेको प्रत्यक्षदर्शी सुदेश राईले बताए । जिल्ला अस्पतालमा उपचारको क्रममा उनीहरूको मृत्यु भएको चिकित्सकले घोषणा गरेका छन् ।

प्रकाशित मिति : असार ११, २०७९ शनिबार  ३ : ५६ बजे