श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

भारतमा आफ्नै साथीलाई कुटी कुटी हत्या गर्ने चार नेपाली पक्राउ



काठमाडौँ– आफ्नै साथीलाई बहुमूल्य सामान चोरेको आरोपमा चार जना नेपालीले भारतमा कुटी कुटी हत्या गरेका छन् । मृतक सुशील नाम गरेका  २१ वर्षिय नेपाली नागरिक नै भएको प्रहरीले जनाएको छ ।

पूर्वी बेंगलुरुको एचएएल तेस्रो स्टेजस्थित बीडीए लेआउटको तीन तले भवनको पहिलो तलाको खण्डमा गत जुन १७ गते उनको शब फेला परेको थियो ।

मृत्युको कारण नखुलेको भन्दै प्रहरीले सुरुमा शङ्कास्पद मृत्यु भएको बताएको थियो । पछि पोष्टमार्टम रिपोर्टमा उनको हत्या कुटपिटबाट भएको खुलेको छ । सोही अनुसार प्रहरीले हत्याको मुद्दा दर्ता गरी चारै जनालाई बेगुर नजिकै पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा २२ वर्षीय सागर बुढाथोकी र १५ देखि १७ वर्षका तीन जना रहेको डेकन हेराल्डले लेखेको छ ।

सुशीलको मृत अवस्थामा फेला परेको भवन मालिकले ऋण तिर्न नसकेपछि बैंकले कब्जा गरेको प्रहरीले जनाएको छ ।

सागर डेढ महिनाअघि एक निजी फर्ममा सेक्युरिटी गार्डका रूपमा त्यहाँ खटिएका थिए । सुशील अक्सर भवनमा सुत्न आउने गर्दथे । सेक्युरिटी गार्डको जागिरको खोजीमा दिनभरि बित्यो । जुन १३ गते राति ११.३० बजेतिर ती चार नेपालीले रक्सीले मातिएका सुशीललाई डोरीले बाँधेर रातभरी बेल्ट, चक्कुले काट्ने, लठ्ठीले पटकपटक कुटपिट गरेका थियो । भोलिपल्ट पनि उनीहरुले कुटपिट गरे । दिउँसो उनको मृत्यु भएपछि चारै जना फरार भएको प्रहरीले जनाएको छ । सुशील बारम्बार उनीहरुको भवनमा आएर बहुमूल्य सामान चोर्ने गरेको प्रहरीले सागरलाई उद्धृत गर्दै जनाएको छ ।

प्रकाशित मिति : असार ११, २०७९ शनिबार  ३ : १७ बजे