श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

१५० वर्षसम्म बाँच्न चाहन्थे माइकल ज्याक्सन



लसएञ्जल्स– विश्वमा धेरै नै पप स्टार भएका छन्, तर किङ अफ पप माइकल ज्याक्सनले नै सारा विश्वमा आफ्नो गायकी र नृत्यको छाप छोडेका छन् । उनलाई अहिले पनि विश्वको कुना कुनाले चिन्दछ । उनले आजकै दिन अर्थात २५ जून २००९ मा लसएञ्जल्समा अन्तिम श्वास फेरेका थिए । ५० वर्षको उमेरमा हृदयघातका कारण उनको निधन भएको थियो ।

माइकलको जन्म अगष्ट २९ मा अमेरिकाको इण्डियाना प्रान्तको एक सहर गैरीमा भएको थियो । बाल्यकालदेखि नै संगीतमा रुची राख्ने माइकल सन् १९६४ मा आफ्नो भाईको पप समूहमा आबद्ध भए । यद्यपि उनले विश्वभर पहिचान त्यो समय पाए, जब उनले सन् १९८२ मा आफ्नो एलबम ‘थ्रिलर’ सार्वजनिक गरे । यो एलबमपछि उनको लोकप्रियता बढ्यो र उनको गायन शैली तथा स्टाइलको जोकोही फ्यान बने । यो विश्वमा सबैभन्दा बढी बिक्री भएको एलबम हो ।

माइकलको निधन त ५० वर्षमा भयो, तर उनी १ सय ५० वर्षसम्म बाँच्न चाहन्थे । यसका लागि उनले १२ डाक्टरको टिम पनि राखेका थिए । जो जहिल्यै माइकलसँगै हुन्थे । यो टिमले नियमित रुपमा उनको स्वास्थ्य परीक्षण गर्थ्याे ।

यतीमात्र होइन, उनी अक्सिजनयुक्त ओछ्याउनमा सुत्थे र कसैलाई भेट्नुअघि मास्क लगाउन भुल्दैन थिए । उनले योग गर्नका लागि आफ्नो साथ १५ जनाको टिम राखेका थिए ।

अधिकांशले उनको निधन लागुऔषधको ओभरडोजका कारण भएको हो भनेका छन् । माइकलले आफूलाई राम्रो देखिनका लागि कैयौं सर्जरी गराएका थिए । उनको त्यो सर्जरी पनि कुनै न कुनै कोणबाट मृत्युको कारण हो भन्ने अनुमान गरिएको छ ।

माइकलको नाममा सबैभन्दा बढी अवार्ड जित्ने कलाकारको रुपमा गिनिजमा दर्ता भएको छ । उनको नाममा २३ वटा गिनिज रेकर्ड छन् । उनले सन् १९९४ मा लिसा मेरी प्रिसलेसँग विवाह गरेका थिए, तर दुवैले १९ महिना पछि सम्बन्धविच्छेद गरे ।

उनले सन् १९९७ मा नर्स डेबी रोवसँग दोस्रो विवाह गरे । उनीहरुको दुई सन्तान प्रिन्स माइकल र पेरिस माइकल छन् । तर माइकलको यो विवाह पनि सन् १९९९ मा टुंगियो ।
–अमरउजाला

प्रकाशित मिति : असार ११, २०७९ शनिबार  २ : ३५ बजे