श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

संघ र प्रदेशको चुनावमा पनि सत्तारुढ गठबन्धन आवश्यक : माधव नेपाल

‘दश भाइ’ लाई नशाबाट उत्रिन सुझाव



काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संघ र प्रदेशको चुनावमा पनि सत्तारुढ गठबन्धन आवश्यक रहेको बताएका छन् ।

अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका गठबन्धनमा आबद्ध दलका नेताहरुले संघ र प्रदशको चुनावमा पनि गठबन्धन गरेरै जान आफूलाई आग्रह गरेको उल्लेख गर्दै त्यसलाई कायमै राखेर अघि बढन आफ्नो पार्टी तयार रहेको बताएका हुन् ।

शनिबार काठमाडौमा बसेको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उहाँले गठबन्धनसँग तालमेल गरेर र आफ्नै बलमा पनि संघ र प्रदेशको चुनावमामा पार्टीको पक्षमा जनमत निर्माण हुने गरी सिंगो पार्टी पंक्तिलाई परिचालित हुन पनि आह्वान गरे ।
अध्यक्ष नेपालले भने, ‘गठबन्धनको आवश्यकता अहिले पनि छ । हिजो भएको पोलिटब्युरो बैठकमा बोल्ने अधिकांशको राय थियो-गठबन्धनप्रति हाम्रो धेरै गुनासो भए पनि कतिपय पार्टीहरुले धोका दिएको भए पनि, कतिपयले हामीलाई अपमान गरेको भए पनि, हामी आफैले पनि आफ्नो शक्तिलाई राम्रोसँग परिचालन गर्न नसेकेको कारणले गर्दाखेरी हामीले पालिका तहमा अपेक्षित परिणाम प्राप्त गर्न सकेनौं । तर पनि गर्वकासाथ भन्नु पर्दछ-महानगरपालिकामा समेत हाम्रो पनि उपस्थिति रहेको छ ।’

उनले भने, ‘गठबन्धन दलका सबै घटकहरुले हामीसँग भन्नु भएको छ-मिलेरै जाऔं । नेपाली कांग्रेसका तर्फबाट शेरबहादुर देउवा प्रधानमन्त्रीजीले गठबन्धनको आवश्यकता छ, हामी आउने चुनावमा पनि मिलेर जाऔं भन्नु भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि विगतमा कमीकमजोरीहरु भए, त्यो पनि स्विकार गर्नु भएको छ । र, ती कमजोरीहरु नदोहोरियोस् भन्ने कुरामा हामीले सजग हुनुपर्दछ । कहाँकहाँ आत्माआलोचना गरेर जानुपर्ने हो गरेर जाने भन्नुभएको छ । त्यसैगरी जनता समाजवादी पार्टीको उपेन्द्रजीले पनि हामीले मिलेरै जानुपर्छ भन्नु भएको छ । यी सबै सन्दर्भमा एकातिर हामीले आफ्नो शक्तिमाथि भरोसा गरेर बढ्ने र अर्को गठबन्धन दलसँग तालमेल गरेर पार्टीको पक्ष जनमत बनाउन लागिपर्नुपर्ने आवश्यक्ता छ ।’

‘दश भाइ’ लाई नशाबाट उत्रिन सुझाव
अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ‘दश भाइ’ लाई नशाबाट बाहिर आउन सुझाव दिएका छन् । शनिबार पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीलाई अनावश्यक गाली नगर्न पनि आग्रह गरे ।

‘कथित दश भाइका विभिन्न अभिव्यक्ति म सुन्दैछु, अझै पनि दिमागबाट उनीहरूको नशा उत्रिएको छैन । तथानाम लेखिरहेका छन् । दासजस्तो भएर बसिरहेका छन्’, अध्यक्ष नेपालले भने, ‘उनीहरूमा कुनै मूल्य मान्यता छैन । पदीय गरिमा पाएका छैनन् । तर पनि अहिले हामीलाई धारे हात लगाउने दुस्साहस गरिरहेका छन्, नगरुन् ।’

उनले तत्कालीन नेकपामा विद्रोह जायज रहेको स्मरण गरे । त्यसैले विद्रोह गरेको उनले स्पष्ट पारे । ‘होइन भने दास भएर बस्नु पर्ने थियो । अथवा राजनीतिबाट पलायन हुनुपथ्र्यो । अहिलेसम्म कसैको आँखा खुलेको छैन भने उनीहरूको पनि आँखा खुलोस्’, उनले भने ।

प्रकाशित मिति : असार ११, २०७९ शनिबार  २ : ३७ बजे