श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

डिजेल र पेट्रोलमा प्रतिलिटर २५-३० रुपैयाँसम्म कर घटाउने सरकारको तयारी



काठमाडौँ – सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने गृहकार्य थालेको छ । आज (शनिबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सरकारलाई पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सरकारलाई निर्देशन दिएको थियो । गठबन्धन वैठकले पेट्रोलियम पदार्थको मूल्यमा भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिने निणर्य गरेको हो ।

त्यही निर्देशनका आधारमा सरकारले शनिबारकै दिनदेखि पेट्रोलियम पदार्थमा लगाएका करहरू कटौती गर्ने सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार डिजेल र पेट्रोलको मूल्यमा प्रतिलिटर २५ देखि ३० रुपैयाँसम्म घटाउने तयारी गरिएको छ ।

सरकारले बजार अनुगमनलाई पनि कडाइ गर्ने सहमति गठबन्धनको बैठकमा भएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए । ‘मैले सरकारले बजारमा हस्तक्षेप गरेर मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने प्रस्ताव गरेको हो । खाद्य संस्थान र साल्ट ट्रेडिङमा नागरिकलाई सस्तोमा उपभोग्य सामान उपलब्ध गराउनुपर्ने अवस्था आइसकेको छ । सरकारले राज्यका सबै निकायलाई प्रयोग गरेर मूल्यवृद्धिलाई नियन्त्रण गर्नुपर्छ ।’

प्रकाशित मिति : असार ११, २०७९ शनिबार  ११ : ५१ बजे