भाद्र १, २०७९ बुधबार | Thu Aug 18 2022

बान्की मिलेको कृतिः अन्तिम हुनसक्छ…



शशी भट्टराई श्रेष्ठ
एक दशकभन्दा लामो समयदेखि शिष्टाचार अभियानमा आबद्ध सुमन दाहाल शिष्टाचार अभियान नेपालका अध्यक्ष हुन् । समाजमा देखिँदै आएका मूल्य, मान्यतामा ह्रास र व्यक्तिमा हराउँदै गएको नैतिकता र सदाचारलाई पुनः स्थापित गर्न दाहाल सक्रिय छन् । यसअघि ‘शिष्टाचार’नामक पुस्तक प्रकाशन गरिसकेका सुमनकाे कविता सङ्ग्रह ‘अन्तिम हुन सक्छ’ दोस्रो सन्तान हो । यो सङ्ग्रहमा साठीवटा कविता छन् । त्यसमा पनि लामा ४४ वटा र छोटा १६ वटा कविता छन् ।

स्रष्टाले आफूले भोगेको वा अनुभूत गरेको विषयमा नै कविताको भाव झल्कन्छ, बान्की तिखारिन्छ । त्यसैले त कवितालाई साहित्यको ‘शक्तिशाली’ विधा मानिन्छ । कवितामा विम्बको प्रयोगले भाषालाई प्रभावकारी र सुन्दर बनाउँछ । आफ्नो धारणा सम्प्रेषण गर्नकै लागि कविहरूले कवितामा विम्बको प्रयोग गर्छन् । विम्ब बिनाका कविताहरू ‘नुन नहालेको तरकारी’ जस्तै खल्लो हुन्छ, त्यस्ता कविताले पाठकमा रोमाञ्चकता उत्पन्न गराउँदैन ।

संसारकै सुविधा सम्पन्न देशमा पुगे पनि लेखकलाई आफू जन्मिहुर्केको माटो नै प्यारो छ । त्यसैले त आफ्नी आमाको सम्झना, गाउँघर, पहाडी बाटोघाटो, देशको राजनैतिक अवस्थाले उनलाई एैठन पारिरहन्छ । उनले लेखेका कवितामा विशेष गरि राजनैतिक विषय नै अग्रपंक्तिमा आउँछ । आफ्नो परिवार, गाउँघर, आफ्ना इष्टमित्र, हिमाल, पहाड, जन्म दिने आमा, महामारी बनेर भित्रिएको कोरोना, यी सबै लेखकलाई कविता सृजना गर्न प्रेरित गरेका विषयहरू हुन् भन्ने कुरा स्पष्ट रुपमा झल्कन्छ ।

उनका कवितामा हाम्रो समाजका समसामयिक घटना परिघटनाको यथार्थ चित्रण छर्लङ्ग देखिन्छ । लेखकले आफ्ना कवितामार्फत वर्तमान विकृति र विसङ्गतिप्रति तिखो व्यङ्ग्य प्रहार गरेका छन् । सरलताभित्र पनि प्रभावकारी विम्ब राखेर उत्कृष्ट कविता रचना गर्न सक्ने स्वतन्त्रता प्रेमी सुमनलाई आजका नेता र वर्तमान राजनीतिप्रति वितृष्णा जागेको उनकै कविताले प्रष्ट पार्छ ।

दश वर्षे गृहयुद्धले मच्चाएको वितण्डालाई लेखकले कविता ‘रातो क्रान्ति जिन्दावाद’मा यसरी पोखेका छन्ः–
तिम्रा गरिब आमाबुवाहरू
कुनै समय कोदो नरोपेर
बमहरू रोप्ने गर्थे,
प्रिय,नानीबाबुहरू
माटो नउधिन्नू है
कुनै बेलाका गरिब मजदुरहरूले
माटोमुनि रोपेका बमहरु भेटिन्छन्….

यो कविता पढेपछि लाग्छ–मान्छेको मान्छेभन्दा ठूलो शत्रु अर्को को हुन सक्छ र ?

जमिनमुनि गाडिएका बम र बारुद पड्किएर कति अबोध बालबालिकाको ज्यान गयो । यो कविता पढ्दा कसको मुटुको धड्कन नबढ्ला र ?

शक्तिको उन्मादलाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरिएको कविता ‘कहाँ पाइन्छ’ पढ्दा हामी कोसँग रुष्ट छौं जगजाहेर नै हुन्छ । यसै सन्दर्भसँग मेल खाने एउटा कविताको अंशः–

आलोपालो शासक चाहिए
फेर्न सकिन्छ
यस्तै, साधु जनता सधैं
कहाँ पाइन्छ ।
झण्डा बोक्छ, डण्डा बोक्छ
ठोक् भने ठोक्छ
मर्ने मार्ने आदेश पालक
कहाँ पाइन्छ !

भ्रष्ट नेताले सबैभन्दा फोहोरी खेल राजनीतिलाई बनाए । त्यो खेलभित्र उनीहरू दुर्गन्धित हिलो छ्यापाछ्याप गर्छन्, त्यसको असर सिधै देशका सर्वसाधारण जनतालाई पर्छ । यस्ता खराब नेता र यो प्रवृत्तिको विरुद्धमा आक्रोश पोख्दै लेखिएको अर्को कविताको एक हरफः–
उहाँहरू प्रचण्ड मतले
अनुमोदित हुनुहुन्छ
भारी मतले विजयी हुनुहुन्छ
देश र जनताको मुक्तिका लागि
सदैव दस्तावेजको सिरानीमा
लुटुपुटु हुनुहुन्छ ।

सुमनको यो कविता सङ्ग्रहभित्र एक दुईवटा कविता कोरोना महामारीसँग सम्बन्धित पनि छन् । पहिलो कविता ‘मिठी पापा लिएर आउँछु’ले पाठकलाई सुरुमै भावुक बनाउँछ । कोभिड –१९ को महामारी संघारमै आएर प्रत्येक घरका ढोका ढक्ढक्याउँदै थियो, विस्तारै– विस्तारै संसार सुनसान भयो । धेरै घरहरु खाली भए, गाउँहरू रित्तिए सँगसँगै कैयौं मन पनि उध्रिए, धरधरी आफन्त सम्झँदै, पुरानो सुइटर उध्रिएसरी । उनले यही बेला सानी सम्झेर लेखेको यो कवितामार्फत सानीलाई हिमाल सम्झँदै, हेर्दै लामो ‘लामो स्वास फेर है’ भन्छन् । आफ्नो सन्तानको पालनपोषणका लागि विदेशीएको बुवाले ज्वरोले थला परेकी सानीलाई यातायातका साधन नचल्दा छोरी सम्झेर तड्पिएर बसेको बेलामा लेखेको यो कविताले, कैंयौं त्यस्ता दुःखी पिताहरूको प्रतिनिधित्व गर्छ । यो विनाशकारी महामारीबाट सन्तान गुमाएकाहरूले यो कविता पढ्न नसक्लान् ।
सुस्त सुस्त स्वास फेर्दै गर सानी
तिमीलाई सकस छ
म धेरै टाढा छु
सिटामोल सदरमुकाममै सकिएछ
लामो– लामो स्वास फेर्दै गर है सानी !
हिमाल हेरेर स्वास फेर है ।

‘आमा आउने बाटो’ र ‘आमाका खाटमुनि’ यी दुई कवितामा पूरै संसार अटाएको छ । हाटबजार भर्न गएकी आमा अबेलासम्म घर नआइपुग्दा एउटा अबोध बालकले सम्झेका अनेक शङ्का उपशङ्कालाई लेखकले साह«ै हृदयस्पर्षी ढङ्गले कवितामा उतारेका छन् । लिञ्चारको ढुङ्गामा बसेर आमा कुर्दै गर्दा छोराले यसरी सम्झन्छ–घर फर्कंदै गर्दा खोलामा बाढी पो आउने हो कि, भीर पहरामा अल्झिएर आमा कतै लड्दा हामीलाई किनेर ल्याएको मिस्री र नरिवलको टुक्रा हराउने पो हो कि, आउँदा–आउँदै बाटामै मिस्रीको डल्लो पग्लने पो हो कि । धनेपुको डाँडाबाट ओरालो झर्दै गरेका धेरै आमाहरूमध्ये रातो सारी र सेतो पछ्यौरा लगाउने आफ्नै आमाजस्तै देखेपछि बाल मस्तिष्कले आमालाई अनेक सोचेर पनि आमाको आकृतिलाई मिस्रीको टुक्रा चपाउँदै ग्वाम्लाङ्ग अँगालो मार्छ र यो कविता टुङ्गिन्छ ।
झ्याउँकिरी कराउन थालेपछि
लिञ्चारको ढुङ्गामा बसिरहेको म जुरुक्क उठ्छु
आमाको आकृतिलाई गल्र्याम्म अँगालो हालेर
आमाले दिएको मिस्री चपाउँदै
अघि बढ्छु, पछाडि छोडेर–आमा आउने बाटो ।

कविले भन्न खोजेको कुरा पाठकले अर्कै अर्थ लगाउन पनि सक्छन् । आ–आफ्ना हेराई र बुझाई मान्छे पिच्छे फरक फरक हुन्छन् । झन् कविको कोमल मन बुझ्न सजिलो कहाँ छ र ? जबर्जस्ती पागल घोषित गरेर पागलखाना पु¥याइएका देवकोटाको इतिहास आज पनि साक्षी छ । शेक्सपियरजस्ता महान साहित्यकारले पागल, प्रेमी र कविलाई एउटै स्तरमा राखेका छन् । त्यसैगरी कविता ‘ आमाका खाटमुनि’ले मलाई मेरै आमा सामु पु¥याएर पछारिदियो । म आमाको खाटमुनि कविको कविता सँगसँगै हराउन पुगें । कविको सम्झनामा जस्तै हाम्री आमाले आमाको खाटमुनि हामी केटाकेटीका लागि मनपर्ने सबै खानेकुरा जोगाड गरेर राखिदिनुभएको हुन्थ्यो । आमाको त्यो प्रिय खाटमुनि एउटा बट्टामा मिस्री हुन्थ्यो, टाकुरा नाम गरेको स्क्वास बोतलभरि हुन्थ्यो, स्प्राइटका खाली बोटलमा घिउ भरेर राखेको हुन्थ्यो ।

आमाले ओढ्ने पुराना पछ्यौरामा चिउरा, कनिका यस्तै–यस्तै के—के खानेकुराका पोकाहरू भेटिन्थे । हाम्री आमाको खाटमुनि आफ्ना छोराछोरी टाढा हुँदा सम्झेर राखेको खानेकुराको ढुकुटी थियो । आमाको त्यो खाटमुनि एउटा संसार थियो, त्यो संसारभित्र हराउने हामी छोराछोरी थियौं । ‘आमाको खाटमुनि’ नामक कविता मलाई लेखकका साठीवटा कवितामध्येमा सबैभन्दा मन परेको कविता हो । ‘खाटमुनि’ शब्दले मलाई आजसम्म पनि हुरुक्क बनाउँछ त्यो दिन सम्झेर । कुरा के हो भने–हाम्री आमा बितेपछि आमाको खाटमुनि सफा गर्ने क्रममा कुचो लगाउँदा गंगा दिदीले एउटा झोला देख्नुभएछ । आमाले त्यो झोलामा अलिकति गुन्द्रुक र एउटा स्प्राइटको बोटलमा घिउ भरेर राख्नुभएको रहेछ । कान्छो छोरा देवेन्द्रराजको नाम लेखेर राखिदिनु भएको त्यो घिउको बोटल सम्झेर भाइ आजपनि एकान्तमा बसेर रुन्छ । आमाको खाटमुनि हाम्रो पनि धेरै यादहरू उकुसमुकुस भएर बसेका छन् त्यसैले मलाई यो कविता सबैभन्दा उत्कृष्ट लाग्यो ।
के छैन र
आमाको खाटमुनि
खोज्न जान्नुपर्छ
सधैं सधैं
आमा हुनुहुन्छ
त्यसैले त
सबथोक छ ।
साँचो हराइरहन्छ
कन्तुरको आयतन पुग्दैन
कता राखें, के मा राखें
कति सम्झनु
बिर्से पनि सम्झने
आमाको खाटमुनि
सदा भरिपूर्ण छ ।

सुमनका कवितामा अभावले खेप्नु परेको सास्ती, सभ्यताको इतिहास छ, विभिन्न खालका विभेदको चित्रण छ, देशको चिन्ता छ । त्यसैले त कविकर्म भनेको अन्तर्मुखी यात्रा हो नि । कवि हृदयमा फुटेका मूललाई शब्दमा बगाइदिने कवि सुमनको एउटा कविताको हरफः–
कुनै बेला फेर्दै गरेको सास
अन्तिम हुनसक्छ
सधैं खाने गाँस अन्तिम हुनसक्छ
बेलाबखत सम्झदै गर्नुहोला
अचानक सम्झना अन्तिम हुनसक्छ ।

वास्तवमा जन्मसँगै आएको मृत्युले कहाँ र कुन बेला अँगालो मार्छ कसैलाई थाहा हुन्न । मन हुँडुलिएन भने कविता कसरी लेख्ने ? त्यसो त भौगोलिक रूपमा नेपाल कविहरूकै देश हो । एकजना भुतपूर्व प्रधानमन्त्रीले भनिसक्नुभयो कि ‘हामी प्रत्येक नेपाली कवि हौं’ । तर त्यति सजिलो कहाँ छ र नेताज्यू कविता लेख्न !

सकारात्मक सोचका धनी सुमनले सानो विषयवस्तुको उठान गर्दै लेखेका भएपनि कसैले आफ्नो सृजनामा समेट्न नसकेको कविता हो, ‘सुन्दर नर्कको निर्माण गरौं’ । हामीले यो लोकमा राम्रो काम गरेपश्चात मृत्युपछि स्वर्गलोक प्राप्त गर्न सकिने कुरा हाम्रा ग्रन्थहरूमा पढ्दै र सुन्दै आएका छौं । खराब आनीबानी भएका मानिसहरू नर्कमा पुग्छन्, जहाँ दुःखै दुःखमात्र हुन्छ । यसरी स्वर्ग र नर्कको परिभाषासहित फरक छुट्याउँदै आएकालाई यो कविता पढिसक्दा अचम्म लाग्नु स्वाभाविक हो । मलाई त एकैछिन हाँसो पनि उठ्यो । यो कविको मनमा अरु के के होला भनेर एक्लै सम्झिएँ ।
‘भो, भैगो, म तिमीलाई साथ दिन्छु
नर्कसम्म म सँगै हुन्छु
र त्यही नर्कलाई
बढारकुँढार गरौँ
सिँगारपटार गरौँ
पुण्य कमाऔं
र करोडौं नर्कबासीलाई
बस्न योग्य बनाऔं ।
यसै शालीन र सुन्दर पृथ्वीलोकमा
एउटा सुन्दर नर्कको निर्माण गरौं ।।

पृथ्वी यति सुन्दर छ, हामीलाई हुँदै नभएको काल्पनिक स्वर्गमा जानु छ । अब त्यो सोच्न छोडेर पृथ्वीमै एउटा सुन्दर नर्कस्थल बनाऔं भन्दै नर्कको अर्थ नै बदल्ने यी महान् कवि सुमनलाई म यो कविताको माध्यमबाट जीवनभरि सम्झिरहनेछु । कति सौम्य, कति सभ्य, कति सुन्दर लागेको मलाई यो कविता त्यसैले मैले पटक–पटक पढें र एक्लै रमाएँ । कति रेसमी अनुभूति आहा !

हो त, कहाँ मान्छे जस्ता देखिने सबै मान्छेको परिभाषाभित्र अटाउँछन् र अटाउने भए किन हुन्थ्यो आफ्नै घरभित्र बलात्कार, किन हुन्थ्यो आफ्नै घरभित्र हत्या हिंसा । यो छलकपट, यो दुष्ट्याईं, यी सबै मान्छेको भेषमा सजिएका पशु हुन् । कविको यो कविताले के भन्दैछ भन्ने कुरा हामीले बुझ्नु र मनन गर्नु जरुरी छ ।
सब मान्छे मान्छे हुँदैनन्
गाउँ बोल्छ, शहर बोल्छ
समाज बोल्छ, देश बोल्छ
मान्छेका सबै देखिएका आकृतिहरू
मान्छे जस्तै हुन्छन् मान्छे हुँदैनन्
मान्छे भित्र मान्छे नहुनेहरू
मान्छे नै भएपनि मान्छे हुँदैनन् ।

कवि सुमनको यो अर्को एउटा शक्तिशाली कवितामा अरु नै बसेका होलान् तर यो मन त्यसरी कहाँ मान्थ्यो र ? मेरै लागि लेखेको भनेर म धेरै बेर मोहित बनेँछु ।
उसका प्रत्येक वाक्यहरू
मैले चुपचाप सुनिरहेँ
अहँ, मैले एकरत्ति प्रतिवाद गरिनँ
सुनिरहेँ केवल, सुनिरहेँ र सही रहेँ
किनभने ऊ अर्को व्यक्ति थिएन
म भित्रको एक मात्र असल मित्र म नै थिएँ ।

वास्तवमा मेरो अभिन्न मित्र पनि म आफै हो । मेरो मनलाई के गर्दा खुसी लाग्छ म त्यही गर्छु । अरुलाई हेर्नु भन्दा पहिले म मेरै मन हेर्छु । जे होस् यो कविता पनि बुझ्नेलाई राम्रो छ ।

‘प्रिय भेडाहरू’, ‘कसैले किन जितोस् !’, ‘श्रीपेच पहिराउनु पर्छ’, ‘हाइसञ्चो जिन्दगी’, ‘शालीन युद्ध’जस्ता छोटा कवितामा पनि उनी मज्जाले जमेका छन् । सुमनका कविताहरू धारिलो हतियारजस्ता लाग्छन्, विशेष गरेर देश चलाउने जिम्मा लिएका शासक वर्गलाई उनी कविताका माध्यमबाट छप्काउन सफल भएका छन् ।

क्रान्तिकारी कविताहरूको सन्दर्भमा भन्नुपर्दा अन्याय अत्याचार हेर्न नसकेर शब्दमार्फत पोखिएका उनका कविताहरू विभिन्न शीर्षकमा लेखिएका भएपनि प्रायः जसो कविताको मर्म झण्डै एकै खालको जस्तो देखिन्छ ।

यस सङ्ग्रहमा रहेका साठीवटा कविता पढेपछि मलाई यस्तो लाग्यो कि अन्याय अत्याचार सहेर बसेका बेनाम नागरिकको पीडा अब अन्तिम हुनसक्छ । किनकी, हाम्रो देशमा आशाको दियो बलेको छ । अबको पिँढीले देश सिध्याउने नेतालाई कठघरामा उभ्याउने छन् र धेरै प्रश्नका उत्तरहरू बकाउनेछन् । किताबको नाम जस्तै नेपाली जनताका असङ्ख्य पीडा अन्तिम बनुन् । कवि सुमन दाहालको कलम यसैगरी निरन्तर चलिरहोस् ।

कृतिः अन्तिम हुनसक्छ…
विधाः कविता सङ्ग्रह
कृतिकारः सुमन दाहाल
प्रकाशकः साहित्यपोष्ट

प्रकाशित मिति : असार ११, २०७९ शनिबार  ८ : १३ बजे