काठमाडाैँ– नेपालबाट चाेरी गरी अमेरिका पुर्याइएको मूर्ति नेपाल फिर्ता ल्याई पुरातत्व विभागलाई बुझाइएको छ । अमेरिकाको कनेक्टकटस्थित यले विश्वविद्यालयको आर्ट ग्यालरीमा रहेको पुरातात्विक महत्वको ‘प्रस्तरको ताराको मूर्ति’ नेपाल फिर्ता ल्याइ विभागलाई बुझाइएको हो ।
भक्तपुरको गोलमढी टोलस्थित नीरमदेश्वर मन्दिरमा स्थापित यो मूर्ति सन् १९७५ पछिका वर्षमा चोरी भएको थियो। मध्यकालको हातमा नालसहितको कमलको फूल लिएको स्वरुपमा नवाैँ-दशौं शताब्दीतिर बनेको थियो ।
विभागले ८३ किलो ताैलको मूर्तिको उत्पत्तिस्थल नेपाल भएको अनुसन्धानको आधारबाट पुष्ट्याईँ दिएपछि यले विश्वविद्यालयको आर्ट ग्यालरीले फिर्ता गर्ने आधार तयार गरी २०७९ बैशाख २३ गते यले विश्वविद्यालय र न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासबीच कलाकृति फिर्ता गर्ने समझदारी भएको थियो ।
इन्सुरेन्स तथा ढुवानीको खर्चसमेत विश्वविद्यालयले नै व्यवस्था गर्ने गरि मूर्ति नेपाल ल्याइएको हो ।
हालसम्म अमेरीकाबाट २२ वटा, तिब्बतबाट २८ वटा, वेलायतबाट १९ वटा, अस्ट्रियाबाट १ वटा, कलकत्ताबाट १३ वटा, जर्मनीबाट एउटा गरी जम्मा ८४ वटा मूर्ति तथा कलावस्तुहरु विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्ति तथा संघसंस्थाहरुको प्रयासबाट नेपाल फिर्ता भइसकेको विभागले जनाएको छ ।
अमेरिका, फ्रान्स, बेलायत, जर्मनी, अष्ट्रेलियालगायत देशवाट थप केही कलावस्तु फिर्ताको लागि कुटनीतिक पहल भइरहेको पनि विभागले जनाएको छ ।
सन् १९५० पूर्व नेपालबाट बाहिरिएका सांस्कृतिक सम्पदाको रेकर्ड नै छैन । तर विश्वका विभिन्न प्रख्यात संग्रहालयमा प्रदर्शनमा राखिएका नेपाली विशिष्ट किसिमका कलाकृतिले नेपालबाट हजारौँकाे संख्यामा यस्ता महत्वपूर्ण कलाकृति बाहिरिएको हुनसक्ने विभागले जनाएको छ । सन् १९५० पछि नेपालबाट सांस्कृतिक सम्पदाको चोरी निकासी पनि हुन थालेकाे मानिन्छ । पर्यटनको विकासले नेपालमा विशेष गरी ७०, ८० र ९० को दशकमा धेरै सांस्कृतिक सम्पदा चोरी भएको देखिन्छ ।
सन् २००० देखि सांस्कृतिक सम्पदाहरुको चोरी निकासी क्रमश: कम हुँदै गएको विभागले जनाएको छ । यस अवधिमा चोरी भएका केही महत्वपूर्ण सम्पदा पनि सुरक्षा निकायहरुद्वारा बरामद गरी पुरातत्व विभागमा पठाएका छन् ।
चोरिएका मूर्तिको उत्पत्ति स्थलमा हुने महत्व र उक्त स्थलमा बसोबास गर्ने मानिसको मूर्तिप्रतिको आस्थाका कारणले यस्ता मूर्ति यथास्थानमै प्रतिस्थापन गर्नुपर्छ भन्ने विश्वव्यापी रुपमा विकास भइरहेकाे मान्यता र विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय कानूनको विकासले गैरकानूनी रुपमा निकासी भएका सांस्कृतिक सम्पदाहरु फिर्ता हुन थालेका विभागले जनाएको छ ।
प्रतिक्रिया