असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

वरिष्ठ पाइलट ज्वारचन वायु सेवा निगमको महाप्रबन्धकमा नियुक्त



काठमाडाैँ – नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा वरिष्ठ पाइलट दीपु ज्वारचन नियुक्त भएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट आज बिहीवार ज्वारचनलाई महाप्रबन्धकमा नियुक्त गरेको हो।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बनमा परेपछि रिक्त रहेको निगमको कार्यकारी प्रमुखको जिम्मेवारी अब ज्वारचनले सम्हाल्ने मन्त्रालयले जनाएको छ ।

निगमको अप्रेशन निर्देशक रहेका ज्वारचनले वरिष्ठ पाइलटको हैसियतमा न्यूनतम उडान गर्ने गरी जिम्मेवारी पाएको बताइएको छ ।

सरकारले निगमका प्रबन्ध निर्देशक डिमप्रसाद पौडेललाई निष्कासित गरिसकेको छ भने कार्यकारी अध्यक्ष अधिकारीमाथि छानबिन समिति बनेसँगै उनी निलम्बनमा परेका थिए ।

कोभिड १९ को महामारीको बेला अत्यवाश्यक स्वास्थ्य सामग्री ढुवानी गर्ने सन्दर्भमा ज्वारचन अग्रपङ्क्तिमा रहेका थिए।

प्रकाशित मिति : असार ९, २०७९ बिहीबार  ३ : ५५ बजे