असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

मन्त्री फेर्ने निर्णय छिट्टै कार्यान्वयन हु्न्छ : प्रवक्ता खतिवडा



काठमाडौँ– नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले मन्त्री फेर्ने निर्णय छिट्टै कार्यान्वयन हुने दाबी गरेका छन् । पार्टी कार्यालय आलोकनगरमा आज पत्रकारहरूसँग खतिवडाले पार्टीका तर्फबाट बनेका मन्त्रीहरू फिर्ता आउने र यसअघि निर्णय गरेअनुसार नयाँ मन्त्री बनाउने निर्णय छिट्टै कार्यान्वयन हुने दाबी गरेका हुन् ।

उनले समाजवादीका उपमहासचिव समेत रहेका खतिवडाले पार्टीले मन्त्री फेर्ने निर्णय गरेकोले अब त्यो कार्यान्वयन हुने बताए ।
‘मन्त्री फेर्ने पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्छ। दिनमा होइन घन्टामा मन्त्री हेरफेर हुन्छ,’ उनले भने, ‘कसले कहाँ कोसँग छलफल गर्‍यो भन्ने व्यक्तिगत कुरा हुन्। पार्टीले मन्त्री फेर्ने निर्णय गरेकोले त्यसअनुसार मन्त्री परिवर्तन हुने हो।’

उनले शुक्रबारदेखि पोलिटब्यूरो बैठक बस्ने पनि जानकारी दिए । यसअघि बसेको सचिवालय बैठकले पार्टीले यसअघि गरेको निर्णय अनुसार मन्त्री हेरफेर तत्काल गर्न प्रधानमन्त्री देउवालाई मनाउने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिने निर्णय गरेको थियो । प्रधानमन्त्री देउवाले भने तत्काल मन्त्रीपरिषद हेरफेर नगर्ने अडान लिइरहेका छन् ।

प्रकाशित मिति : असार ९, २०७९ बिहीबार  २ : ५४ बजे