असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

बालबालिकालाई कोभिड-१९ विरुद्धको खोप लगाउन सुरु (तस्वीरहरू)



काठमाडौँ – बिहीबार (आज) देखि पाँच देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिड-१९ विरुद्धको खोप लगाउन शुरू गरिएको छ । पहिलो चरणमा २७ जिल्लाका बालबालिकालाई विद्यालयहरूमै खोप कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आजदेखि असार १५ गते सम्म पहिलो डोज र साउन २ देखि ८ गतेसम्म दोस्रो डोज खोप दिइने मन्त्रालयले जनाएको छ । बाँकी ५० जिल्लामा भने भदौ ५ देखि ११ गतेसम्म पहिलो र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो डोज खोप दिने तयारी छ ।

बालबालिकालाई दिन लागिएको फाइजर बायोएन्टेक खोप ९९ प्रतिशत प्रभावकारी र सुरक्षित रहेको मन्त्रालयले जनाएको छ ।

सरकारले प्रत्येक खोप केन्द्रमा एक तालिमप्राप्त स्वास्थ्यकर्मी राख्ने र खोप लगाएका बालबालिकामा केही असर देखिए केन्द्रमा नै उपचारको व्यवस्था गरिएको जनाएको छ ।

खोप लगाएपछि टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, सुई लगाएको ठाउँ रातो हुने, शरीर चिलाउने, बिमिरा तथा डाबर आउनेजस्ता समस्या हुनसक्ने भएकाले यस्ता असरलाई स्वाभाविक रूपमा लिन र यसबाहेक अन्य असर देखापरे तुरुन्त अनुसन्धान थाल्ने परिवार कल्याण महाशाखाले जनाएको छ ।

बिहीबार काठमाडाैँको न्यू जेनिस इंग्लिस स्कुल डल्लुमा बालबालिकालाई खोप लगाइँदै-

प्रकाशित मिति : असार ९, २०७९ बिहीबार  १ : ३४ बजे