श्रावण २८, २०७९ शनिबार | Sat Aug 13 2022

काठमाडौँ महानगरको नीति कार्यक्रमले आशा जगाएको छ : किशोर थापा



काठमाडौँ-महानगरको मुहार फेर्ने भन्दै विभिन्न योजनासहित स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका मेयर बालेन्द्र शाहले काठमाडौँको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । शाहले कस्ता कार्यक्रम समेट्लान् भन्ने आम चासोकाबीच उनले नीति तथा कार्यक्रम पेश गरेका हुन् । काठमाडौँ महानगरको नीति तथा कार्यक्रम यस पटक केही फरक छ कि उस्तै हो त ?

नेपाल सरकारका पूर्व सचिव तथा सहरी विकासका जानकार किशोर थापा यसपटकको नीति तथा कार्यक्रम सँधैको भन्दा केही फरक भएको बताउँछन् । थापाले भने, ‘पहिला पहिला सस्तो लोकप्रियताका लागि बजेट ल्याइन्थ्यो । पहिलाका बजेटमा सहरबासीको आवश्यकताभन्दा पनि राजनीतिक उद्धेश्य र दर्शनबाट बढी गाइडेड हुन्थ्यो । अहिले महानगरबासीको चाहना अनुसार, महानगरको जल्दाबल्दा समस्यामा केन्द्रीत भएर नै नीति तथा कार्यक्रम आएको छ । त्यो हिसाबले यो यथार्थवादी छ । यो महत्वकांक्षी पनि छैन र पपुलिष्ट पनि छैन ।’

मेयर शाहको कार्यकालको पहिलो नीति तथा कार्यक्रम भएकाले सबै विषय समावेश नभए पनि केही नयाँ कन्सेप्ट आएको थापाको भनाइ छ । युवापुस्तालाई ध्यानमा राखेर ल्याएको ‘एनटी थेयटर’, कला र संस्कृतिको जगेर्ना गर्न आएको फल्चा बनाउने, सार्वजनिक यातायातका लागि महानगरले कम्पनी खोल्नेलगायत कुराले राजनीतिक दलका मेयरको पालामा भन्दा यस पटक फरक देखिएको थापाले बताए ।

उनले भने, ‘पहिलो कुरा हाम्रा सबै जल्दाबल्दा समस्याहको समस्या समाधान गर्ने विषयमा अलगै नयाँ आयो भन्न त नमिल्ला । तर, एमपी थेयटरको कन्सेप्ट आयो, त्यो उपमेयरको कन्सेप्ट भन्ने पनि छ । युवापुस्ताहरुलाई जम्मा हुने, नाचगान गर्ने सार्वजनिक ठाउँमा रुपमा आएको यो एउटा नयाँ कन्सेप्ट हो । बस बिसौनीहरुमा कलात्मक फल्चा बनाउने पनि नयाँ कन्सेप्ट हो ।’

काठमाडौँमा समस्याका रुपमा रहेको सार्वजनिक यातायातलाई व्यवस्थित गर्न महानगरले कम्पनी नै खोल्ने भन्ने विषय पनि अत्यावश्यक र नयाँ भएको थापाको भनाइ छ । यस्तै करदातालाई बीमामा ५० प्रतिशत छुट दिने पनि राम्रो विषय भएको उनको भनाइ छ ।’

यो नीति तथा कार्यक्रमलाई हेर्दा शाहको कार्यकालमा काठमाडौँ महानगरमा धेरै काम हुन सक्ने संकेत देखिएको थापाको भनाइ छ । थापाले भने, ‘यो उहाँको पहिलो नीति तथा कार्यक्रम हो । यसअनुसार काम अगाडि बढाउँदै जाने हो । बाँकी पाँच वर्ष छ । काम गर्दै जाँदा अर्को वर्ष त्यो बेलाको आवश्यकतालाई मध्यनजर गरेर आउला, समयसापेक्ष रुपमा नीति तथा कार्यक्रम पनि सुधार हुँदै जान्छ । अर्को वर्ष अहिलेको अनुभवबाट पनि सुधार गर्नुपर्ने कुरा सुधार गरिन्छ । कतिपय छुटेका हुन्छन्, त्यो समावेश हुन्छ । कतिपय अव्यवहारिक होला काम गर्न गाह्रो भएको अवस्थामा सुधार भएर जान्छन् ।’

महानगरमा पाँच वर्षका लागि नेतृत्व सम्हालेका शाहले पञ्चवर्षीय योजना नै बनाएर अगाडि बढ्नु पर्ने आवश्यकता रहेको थापाले बताए । ‘यो एक वर्षले सबै विषयहरु सम्बोधन हुँदैनन् नै । अब पाँच वर्षका योजनाहरु बनाएर अघि बढ्नु पर्छ ।’

प्रकाशित मिति : असार ९, २०७९ बिहीबार  ८ : १० बजे