असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

प्रवासी नेपाली मञ्च क्यानडाको अधिवेशन जुन २५ मा, थापा फेरि नदोहोरिने



क्यानडा– प्रवासी नेपाली मञ्च क्यानडाको तेस्रो राष्ट्रिय अधिवेशन यही जुन २५ (शनिवार) टोरोन्टोमा हुने भएको छ।

अधिवेशनको उद्घाटन नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रवास इन्चार्ज डा. राजन भट्टराईले गर्ने छन् । विगत १० वर्षदेखि प्रवासी नेपाली मन्च क्यानडाको अध्यक्ष रहेका रमेश थापाले आगामी कार्यकालको लागि अध्यक्षमा नदोहोरिने यस अघि नै घोषणा गरिसकेका छन् ।

प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको सदस्यसमेत रहेका थापाले अध्यक्ष नदोहोरिने घोषणा गरेसँगै प्रवासी नेपाली मञ्च क्यानडाका वर्तमान महासचिव विश्वम्भर घिमिरेले अध्यक्षमा आफ्नो दावी प्रस्तुत गरेका छन् ।

क्यानडा नेपालसंगको कुराकानीमा थापाले भने ‘विगत १० वर्षदेखि प्रवासी नेपाली मन्च क्यानडाको नेतृत्वमा रहेर काम गरिसकेको छु । यो अवधिमा मैले संस्थालाई जिवन्त, गतिशील र परिणाममूखी बनाउन सक्दो प्रयास गरेँ । अब नयाँ सोच, दृस्टिकोण र योजनाका साथ सङ्गठन हाक्ने नेतृत्वको आवश्यक्ता छ। त्यसका लागि प्रवासी नेपाली मञ्च, क्यानडामा हाल काम गरिरहेका साथीहरु तयार हुनुहुन्छ । हामीले बाहिर बसेर नयाँ टिमलाई सक्दो सहयोग गर्ने हो। ‘

टोरोन्टोमा सम्पन्न हुने अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको संस्थाका महासचिव घिमिरेले जानकारी दिए । निर्वाचन सम्पन्न गर्नको लागि एमाले दशौँ महाधिवेशनका प्रतिनिधि रामहरि खड्काको संयोजकत्वमा निर्वाचन समिति गठन भएको र सो समितिले नै प्रवासी नेपाली मञ्च, क्यानडाको सर्वसम्मत नेतृत्व बन्द सत्रमा प्रस्तुत गर्ने संस्थाले जनाएको छ।

प्रकाशित मिति : असार ७, २०७९ मंगलबार  ९ : २८ बजे