असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

गोपनीयता चोरी हुन नदिन तालिम आवश्यकः मुख्यमन्त्री राई



विराटनग– नेपाल दूरसञ्चार प्राधिकरणले सुरक्षित रुपमा इन्टरनेट तथा सामाजिक सञ्जाल सञ्चालन गर्नेबारे प्रदेशका सांसदहरुलाई प्रशिक्षण दिएको छ ।

विराटनगरमा दूरसञ्चार प्राधिकरणले इम्पावर टे«डिङ प्रालिको आयोजनामा प्रदेशसभाका सांसदलाई सुरक्षित रुपमा इन्टरनेट र सामाजिक सञ्जाल कसरी प्रयोग गर्ने भन्नेबारे प्रशिक्षण दिएको हो ।

उक्त प्रशिक्षणमा प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई तथा ५० भन्दा बढी प्रदेशसभा सदस्य सहभागी थिए । सो अवसरमा मुख्यमन्त्री राईले इन्टरनेट र सामाजिक सञ्जाल सुरक्षित ढङ्गले चलाउन नजान्दा धेरै क्षति भोग्नुपरेको उल्लेख गर्दै गोपनीयता चोरी हुनेभएकाले तालिम उपयोगी भएको बताए।

तालिम प्रशिक्षक ऋषिराम गौतमले सहभागी प्रदेशसभा सदस्यलाई आफ्नो फेसबुक, ट्वीटर र अन्य पेजहरु मोबाइल तथा कम्प्युटरमा कसरी सुरक्षित ढङ्गले प्रयोग गर्ने भन्ने विधिबारे सिकाएका थिए । नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रायले बढ्दो साइबर थ्रेट र चुनौतीलाई ख्याल गरेर सबै प्रदेशसभा सदस्यलाई सुरक्षित तरिकाले इन्टरनेट र सामाजिक सञ्चालन चलाउने तरिका सिकाउन थालेको जानकारी दिए।

तालिम संयोजक एवं इम्पावर ट्रेडिङ प्रालिका निर्देशक शम्भु पहाडीले बढ्दो साइबर असुरक्षा र सोसल मिडियामार्फत् दिइने गालीगलौजलगायत घटना दोहोरिन नदिन सुरक्षित तरिकाले इन्टरनेट र सामाजिक सञ्जाल प्रयोग गर्ने सीप हासिल गर्नु आवश्यक भएको उल्लेख गरे ।

प्रकाशित मिति : असार ५, २०७९ आइतबार  ६ : ४२ बजे