श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

काठमाडौँ सेमिनारको नौ बुँदे निष्कर्षमा एनआरएनए सचिव घिमिरेको आलोचनात्मक समर्थन



काठमाडौँ– गैरआवासीय नेपाली संघ (एनआरएनए)का सचिव चिरञ्जीवी घिमिरेले काठमाडौँमा सम्पन्न सेमिनारले निकालेका नौँ बुदे निष्कर्षलाई आलोचनात्मक समर्थन गरेका छन् ।

संघले बिहीबार काठमाडौँमा आयोजना गरेको ‘नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार’ विषयक सेमिनारले नौ बुँदे निष्कर्ष निकालेको थियो । सचिव घिमिरेले संघले यसअघि नै संसदमा पेश गर्न नेपाल सरकारलाई बुझाइसकेको प्रतिवेदनमा उल्लेख विषयहरु नै संघको सेमिनारले निष्कर्षका रुपमा ल्याएको उल्लेख गरेका छन् । यसमा कुनै नयाँ काम नभएपनि आफ्नो कार्यकालमा भएको भनेर प्रचारबाजी र फोटोसेन गरिएको उनको टिप्पणी छ ।

‘यो सेमिनारमा प्रस्तुत भएका विषयवस्तु तथा शीर्षकहरुमा यो भन्दा धेरै पहिलेदेखि छलफल तथा अन्तरक्रिया भएको र अघिल्लो कार्यसमितिले विभिन्न चरणमा सम्बन्धित क्षेत्रका विज्ञसँग छलफल, गोष्ठी गरी अन्तिम प्रतिवेदन संसदमा पेश गर्न नेपाल सरकारलाई बुझाई सकेको छ ।’ उनले भनेका छन्, ‘यो कुनै नयाँ काम नभएर मेरो पालामा भएको भनी जस लिन प्रचारबाजी, मिडियाबाजी तथा फोटोसेन भएका छन् ।’

अहिलेसम्म यो कार्यमा अहोरात्र खटिने विभिन्न एनसीसीहरु, विज्ञहरु, अभियन्ताहरु तथा अधिवक्ताहरुको मेहनत तथा सहयोगालाई कदर नगरिनु असान्दर्भिक भएको संचिव घिमिरेले क्यानडा नेपाललाई बताए ।

घिमिरेले एनसीसी क्यानडाको महासचिव र अध्यक्ष हुँदै  गर्दा क्यानडाका विभिन्न सहरमा नागरिकतबारे निरन्तर कार्यक्रम गरी सुझाव संकलन गरेर सचिवालमा पठाउनुकासाथै यस सम्बन्धका विषय विज्ञ अधिवक्ताहरु, अभियन्ता र गैर आवासीय नेपाली संघका पदाधिकारीसँग विभिन्न चरणमा अन्तरक्रिया गरी अन्तिम मस्यौदा निर्माणमा महत्वपूर्ण सहयोगी भूमिका खेलेका थिए ।

यसै गरी एनसीसी क्यानडाको अध्यक्ष हुँदा नेपालमा कसरी लगानी भित्र्याउन सकिन्छ भनेर संघका अध्यक्ष, उपाध्यक्ष, महासचिव तथा अन्य पदाधिकारीहरु, संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरु, एनआरएनए एडीएफ का सीईओसहितको पहिलो भर्चुअल कार्यक्रम गरेका थिए ।

सचिव घिमिरेले आफ्नो कार्यकालमा यी मुद्दालाई नेपाल सरकारको नीति तथा कार्यक्रममा राख्न पहल गरेको, नेपाल सरकारले गैर आवासीय नेपालीका विभिन्न समस्या तथा मुद्दालाई सम्बोधन गर्न खोजेको र प्रधानमन्त्री तथा मन्त्रीहरु कार्यक्रमा उपस्थित भएर संघका मुद्दालाई सकेसम्म छिटो लागू गर्ने प्रतिबद्धता जनाएकामा कार्यक्रम आयोजक संघ, नेपाल सरकार, संस्थापक तथा पूर्व अध्यक्षहरु तथा पदाधिकारीहरु, सरोकारवालाहरु, मिडिया तथा सम्पूर्ण शुभेच्छुकहरु प्रति धन्यवाद ज्ञापन गरेका छन् ।

लामो समयदेखि यी मुद्दाहरुमा निरन्तर कामगरेका घिमिरेले आफ्नै कार्यकालमा यी सबै मुद्दाहरु स्थापित र सम्बोधन हुने क्रममा रहेकोमा खुशी तथा आभार ब्यक्त गरेका छन्। बिहीबार काठमाडौँमा भएको उक्त समारोहको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवा गरेका थिए ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त, मन्त्रीहरु, सांसदहरु, राजनीतिक दलका नेताहरु, विषयगत विज्ञ, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु, निजी तथा व्यवसायिक संघसंस्थाका प्रतिनिधिहरु तथा विश्वभरबाट आएका भौतिक रुपमा चार सय जनाको सहभागिता रहेको थियो भने अनलाईनमाध्यमबाट ६ सयभन्दा बढी गैरआवासीय नेपाली सहभागी थिए ।

संघले स्थापनाकालदेखि उठाउँदै आएका विभिन्न मुद्दाहरुलाई सरकारी नीति तथा कार्यक्रम एवं आर्थिक वर्ष २०७९/८० को बजेटमा सम्बोधन भएकोमा नेपाल सरकारप्रति कृतज्ञता व्यक्त गरेको छ । साथै, गैरआवासीय नेपालीहरुलाई लक्षित गरी नेपालका बैंकमा डलर खाता खोल्न सहज गर्नुका साथै आकर्षक व्याजदर प्राप्त हुने गरी वैदेशिक रोजगार बचतपत्र निष्काशन गरेकोमा नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकप्रति धन्यवाद ज्ञापन दिएको छ ।

संविधानमा भएको व्यवस्थाको भावना अनुरुप गैरआवासीय नेपाली नागरिकले नेपाली नागरिक सरह सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार उपयोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न आवश्यक कानुनी व्यवस्था तत्काल अघि बढाउन संघले सरकारलाई आग्रह गरेको छ ।

एनआरएनए क्यानडाका अध्यक्षसमेत रहेका घिमिरले काठमाडौँमा सम्पन्न सेमिनारले निकालेका निष्कर्ष संघको महत्वपूर्ण उपलब्धि भएको बताए । काठमाडौँमा बिहीबार सम्पन्न सेमिनारको मिडिया पार्टनर रहेको क्यानडा नेपाललाई पनि सचिव घिमिरेले धन्यवाद दिएका छन् । क्यानडा नेपालले उक्त सेमिनारको अनलाईनमार्फत प्रत्यक्ष प्रशारण गरेको थियो ।

प्रकाशित मिति : असार ३, २०७९ शुक्रबार  १ : २२ बजे