असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

किन युरोपियन युनियन टाइप सी चार्जरमा जोड दिइरहेको छ?



काठमाडौँ– युरोपियन युनियनले सन् २०२४ देखि सबै स्मार्ट फोनमा अनिवार्य रुपमा युएसबी ‘टाइप सी’ चार्जर प्रयोग गर्ने भएको छ ।

जसबाट एप्पल ब्रान्डका फोनलाई भने प्रत्यक्ष असर पर्नसक्ने देखिन्छ । किनकि एप्पल ब्रान्डले आफ्ना फोनमा हालसम्म यूएसबी ‘टाइप सी’ चार्जर प्रयोग गरेको छैन ।

यो नियम लागू भएसँगै एप्पललाई पनि आफ्नो डिभाइसमा यूएसबी ‘टाइप सी’ चार्जर प्रयोग गर्न मिल्ने बनाउन पर्ने दबाब बढ्ने देखिन्छ । युरोपेली युनियनको अनुसार सो नियम सानो र ठुलो साइजको मोबाइल फोन , ट्याबलेट, हेडफोन, स्पीकर, इएरबडमा लागू हुनेछ ।

यी डिभाइस जुन कम्पनीले उत्पादन गरेको भएपनि अनिवार्य रुपमा यूएसबी ‘टाइप–सी’ पोर्टबाट चार्ज गर्न मिल्ने हुनुपर्ने बताइएको छ । उक्त सहमति हालसम्म अनुमोदन भने गरिएको छैन ।

तर युरोपेली संसद् र मन्त्रिपरिषद्ले औपचारिक रुपमा अनुमोदन गर्न सक्ने अपेक्षा भने गरिएको छ । युरोपेली संसद्का प्रवक्ता एलेक्स एगियस सालिबाले युरोपीयन उपभोक्ताहरू लामो समयदेखि प्रत्येक नयाँ यन्त्रमा धेरै प्रकारका चार्जर लाग्ने भएकाले निराश रहेको बताउँदै आएका छन्  । अब उनीहरूले आफ्ना सबै पोर्टेबल इलेक्ट्रोनिक्सका लागि एउटै चार्जर प्रयोग गर्न सक्ने बताएका छन् ।

यसअघि ईयुले सन् २०१४ मा पनि यस प्रकारको मापदण्ड तय गरेको थियो । उक्त निर्णय सोच अनुसार सफल नभएता पनि हाल आएर ईयुले पुनः टाइप–सी लाई अनिवार्य गर्न खोजेको छ । जसले चार्जरको एउटा स्तर तय हुन सक्ने देखिन्छ ।

प्रकाशित मिति : जेठ २९, २०७९ आइतबार  ७ : ५१ बजे