श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

अबको प्रतिस्पर्धा पुराना पार्टी र युवाहरूबीच हुनुपर्छ : पुकार बम (भिडिओसहित) 



नेपालमा वैकल्पिक राजनीतिको कुरा हुन थालेको निकै भयो । दलकै रूपमा विवेकशील नेपाली दलले अघि बढाएको यो अभियानमा अलि पछि साझा पार्टी पनि जोडियो । यी दुवै दल मिलेर बनेको विवेकशील साझाले ‘वैकल्पिक राजनीतिक धार’ लाई थप धारिलो बनाउन सकेन भन्ने कुरा यो दल छिन्नभिन्नको अवस्थामा पुग्नुले पनि दर्साउँछ ।

सङ्घीय र प्रदेशसभाका यसअघिका निर्वाचनमा हस्तक्षेपकारी शक्तिकै रूपमा नउदाए पनि केही ठाउँको विजय र केही ठाउँमा दोस्रो–तेस्रो स्थानमा रहँदै केही आशा जगाएको यो दलमा एक पक्षले अर्को पक्षलाई गालीगलौज र आरोप प्रत्यारोप मात्र होइन कारबाही गर्ने र कानुनी उपचारका लागि अदालत पुग्ने जस्ता गतिविधि देखिएका छन् । भर्खरै सकिएको स्थानीय तहको निर्वाचन पछि यो दलका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् ।

वैकल्पिक राजनीतिको वकालत गर्न भन्दै विवेकशील नेपाली दल हुँदै विवेकशील साझा पार्टीमा पुगेका पुकार बम यस पटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका छन् । उनले अबको संसदीय निर्वाचनमा काठमाडौँ क्षेत्र नं. १ बाट उम्मेदवार बन्ने घोषणा गरेका छन् । अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट विवेकशील साझाका तत्कालीन अध्यक्ष रवीन्द्र मिश्र उम्मेदवार थिए । उनी काँग्रेसका प्रकाशमान श्रेष्ठसँग पराजित भए पनि दोस्रो बढी मत पाएका थिए ।

पुकार बम विगतमा डा. गोविन्द केसीको गुणस्तरीय मेडिकल शिक्षाको अभियान, ६९ माघमा सुरु भएको ‘अकुलाइ बालुवाटार’, ‘इनअफ इज इनअफ’  ‘नेपाल खुल्ला छ, ‘नेताज्यू खबरदार, संविधान कहिले ?’ लगायत अभियानका एक अगुवा हुन् । कोरोना महामारीका बेला विभिन्न माग राखेर १२ दिनसम्म आमरण बसेका थिए ।

संसदीय निर्वाचनको मिति नतोकिँदै स्वतन्त्र रूपमा त्यसमा पनि यसअघि विवेकशील साझा पार्टीका अध्यक्ष रहेका मिश्र उठेकै क्षेत्रबाट उम्मेदवारी घोषणा गर्नुलाई अर्थपूर्ण मानिएको छ । यसबारेमा क्यानडा नेपालका तर्क थापाले बमसँग गरेको कुराकानी–

सरकारले संसदीय निर्वाचनको मिति नै घोषणा गरेको छैन, यहाँले उम्मेदवारी नै घोषणा गरिसक्नुभयो यस्तो हतारो किन ? 

मैले टिम र हाम्रो ‘मुभमेन्ट’को प्रतिनिधित्व गर्दै उम्मेदवारीको घोषणा गरेको हुँ । यो समय पनि अझै कम हुन्छ । हामी १२/१३ वर्षदेखिको अभियानमा भाग लिएका साथीहरूको टिमले यसको निर्णय गर्ने भएकाले यसको प्रतिबिम्बमा म देखिएको हुँ । हामीसँग धेरै पैसा पनि छैन, हामीसँग प्रचार प्रसारका लागि अरू पार्टीका जस्ता कार्यकर्ता वा भातृ सङ्गठन र धेरै मान्छेहरू पनि हुँदैनन् । त्यो नहुँदा पनि हामीले मतदातासँग आफ्नो कुरा पुर्‍याउनुपर्ने हुन्छ, एजेन्डाहरू बझाउनुपर्ने हुन्छ । त्यसैले पनि हामीलाई ५ महिनाको समयलाई लिएर तयारी गरेका हौँ ।

काठमाडौँ १ बाटै चाहिँ किन नि ? 

म काठमाडौँ क्षेत्र नम्बर १ को वडा नं. ११ को मतदाता हुँ । गएको तीन पटकसम्म  यहीँबाट मतदान गरिरहेको छु । पहिलो कारण त म यही क्षेत्रको मतदाता हो । मेरो निर्वाचन क्षेत्र पनि यही हो । अर्को कुरा मेरो कर्मथलो पनि यही निर्वाचन क्षेत्रमा भएकाले पनि यही क्षेत्रबाट उम्मेदवारी घोषणा गरेको हुँ।

एक समय तपाईँकै पार्टीका अध्यक्ष अनि सहयात्री रवीन्द्र मिश्रले थोरै मतले चुनाव हारेको काठमाडौँ १ मा नै तपाईँले उम्मेदवारी घोषणा गर्दा वैकल्पिक राजनीति गर्छौँ भन्ने तपाईँहररु बीचकै खिचातानीलाई छताछुल्ल पार्दैन र ? 

होइन । उहाँ (रवीन्द्र मिश्र) अहिले यस क्षेत्रबाट निर्वाचनमा उठ्नु हुन्न । उहाँले पार्टी अध्यक्षबाट राजीनामा पनि दिइसक्नुभएको छ । त्यसैले प्रतिस्पर्धा गर्न नै उठेको हुँ भन्न नमिल्ला ।

रवीन्द्रजी जस्तो प्रवृत्ति पहिलो चुनौती हो । बालेन शाह, हर्क साम्पाङ, पुकार बम जस्ता व्यक्तिले बाटो फेर् नसक्ने अर्को चुनौती हो । हामी डेलिभरीको कुरामा क्लियर छौँ तर विचारको विषयमा क्लियर नुहुनु अर्को चुनौतीका रूपमा रहेको छ । सामूहिक चुनौतीलाई नबुझेर अघि बढ्दा हुने दुर्घटना, हरेकका एजेन्डाले जनता ठगिने, नेतृत्व क्षमता लगायतका विषयहरू वैकल्पिक राजनीतिका चुनौतीहरू हुन सक्छन् ।

सन् २०११/१२ बाट उज्जल थापा र मैले वैकल्पिक राजनीतिको तयारी र सुरुवात गरेका हौँ । त्यसयताका १० वर्षको कोर्सलाई हेर्नुभयो भने ८० प्रतिशत सफल भएका छौँ । बिचको एक डेढ वर्षलाई हेर्नुभयो भने बाँकी १५/२० प्रतिशत असफल भएको जस्तो देखिन्छ । अहिले सामान्य खिचातानी भयो भन्दैमा हामीले वैकल्पिक राजनीति नै होइन, गर्न सकिँदैन भन्नु गलत हुन्छ । डा. गोविन्द केसीको आन्दोलन, अकुलाई बालुवाटारको आन्दोलन उदाहरण हुन् । हामी सफल भएका छौँ । वैकल्पिक राजनीतिले नै नेपाल बन्दको विरुद्ध काम गरेको छ । राम्रा धेरै कुराहरू छन् । ती राम्रा पक्षहरूलाई पनि हेरिदिनु पर्छ ।

 स्थानीय चुनावमा काठमाडौँ धरान लगायत ठाउँमा स्वतन्त्र उम्मेदवारले जितेको देखेर पनि हौसिनुभएको हो कि ?

यो कुरालाई मैले नकार्न मिल्दैन । विगतमा जुन मुभमेन्ट हामीले ल्याएर आएका छौँ । त्यसले हामी तेस्रो शक्तिका रूपमा उदाएका थियौँ । बिचमा त्यो विषयले दिशा परिवर्तन गर्ला झैँ भयो र हर्क साम्पाङ र बालेन शाहहरू आउनुभयो । त्यसले एक प्रकारको अपेक्षा त राखिन्छ नै । त्यो उभार र अपेक्षा जुन उदाएको छ त्यसलाई लिएर थुप्रै साथीहरू अगाडि बढ्न खोजी रहनु भएको छ । त्यसैले गर्दा उहाँहरूले जगाएको अपेक्षालाई हामीले पनि रोज्यौँ भन्ने विषय मैले नकार्न मिल्दैन ।

 यसअघि तपाईँहरूसँग दल थियो । अब दल नहुँदा स्वतन्त्र रूपमा उम्मेदवार बन्दा त झनै गाह्रो हुने हो कि ? फेरि यो स्थानीय नभएर संसदीय निर्वाचन हो ।

गाह्रो हुन्छ । त्यसैले त मैले तपाईँलाई भन्दै छु, स्वतन्त्रको लहर आयो त्यो एकदमै राम्रो । तर, त्यसलाई व्यवस्थापन गरिएन भने, यसलाई राइट ट्र्याक दिइएन भने त्यो नै गलपासो हुन सक्छ । जुन लहर आइरहेको त्यसलाई हामीले सही बाटो दिनै पर्छ ।  एउटै चुनाव चिन्ह बनाएर लैजान सकिने लगायतका केही उपाय अपनाइएन भने स्वतन्त्रलाई गाह्रो पनि हुन्छ र त्यो स्वतन्त्रको लहरको पनि व्यवस्थापन हुनुपर्छ भन्ने हो ।
बालेन्द्र शाह, सुमन सायमीहरुले नयाँ दल खोल्ने तयारी पनि गरिरहेको सन्दर्भमा तपाईँहरूको सहकार्य हुने सम्भावना कति छ ? 

यो टिम र मुभमेन्टको कुरा हो । हामी अहिले पनि टिम बालेन नै हो भन्दा हुन्छ । यस विषयमा छलफल भइरहेको छ । स्वतन्त्र रुपमा उठ्नेको लहर पनि आउन सक्छ । यसलाई व्यवस्थापन गर्न पनि भोलि पार्टी, अथवा टिम बनाउन आवश्यक हुनसक्छ । यदि त्यो अवस्था आयो भने हामी सँगै हुन्छौँ । साझा अवधारणाका रूपमा हामी सँगै हुन सक्छौँ । संसद्मा सक्षम युवाहरूको हस्तक्षेप हुनपर्छ भन्ने हाम्रो चाहना हो । त्यही अनुसार अघि बढ्छौँ ।

वैकल्पिक राजनीति भनेर राजनीति गर्ने दलहरू नै छिन्नभिन्नको अवस्थामा पुगेको देखिन्छ अहिलेको अवस्थामा नेपालमा वैकल्पिक राजनीति कहाँनेर छ ? 

एउटा कोर्समा अगाडि बढिरहेको छ । पात्र र थोरै चरित्र फेरिएको होला तर, वैकल्पिक राजनीति ट्र्याकमै छ । बालेन जी, हर्क जी लगायतको टिम आउनु पनि वैकल्पिक राजनीतिको ट्र्याककै निरन्तरता हो भनेर बुझ्न सकिन्छ ।
अर्को कुरा हामी छिन्न भिन्न भयौँ भने पुनः यिनै पुरातन सोचका पार्टीहरूलाई नै फाइदा हुने हो । हामीले यसलाई निरन्तरता नदिएको अवस्थामा बालेन र हर्कहरू एक्लो पर्नेछन् । त्यसैले यसलाई राइट ट्र्याकमा नडोहाेर्‍याएसम्म अर्को कुनै विकल्प नै हामीसँग रहँदैन । जसको लागि हामीले यत्रो वर्षदेखि मेहनत गर्‍यौँ । यसलाई अघि बढाएन भने फेरी यही राजनीतिक दल र पुरातनवादी नेताहरुलाई नै फाइदा हुने हो । त्यस कारण पनि वैकल्पिक राजनीति कमी कमजोरी सच्याएर अघि बढ्छ, बढ्नै पर्छ ।

जति दाबी गरे पनि तपाईँहरूले भनेको जस्तो सजिलो गरी त वैकल्पिक राजनीति अघि बढ्ने देखिएन चुनौतीहरू के के होलान् ?

रवीन्द्रजी जस्तो प्रवृत्ति पहिलो चुनौती हो । बालेन शाह, हर्क साम्पाङ, पुकार बम जस्ता व्यक्तिले बाटो फेर् नसक्ने अर्को चुनौती हो । हामी डेलिभरीको कुरामा क्लियर छौँ तर विचारको विषयमा क्लियर नुहुनु अर्को चुनौतीका रूपमा रहेको छ । सामूहिक चुनौतीलाई नबुझेर अघि बढ्दा हुने दुर्घटना, हरेकका एजेन्डाले जनता ठगिने, नेतृत्व क्षमता लगायतका विषयहरू वैकल्पिक राजनीतिका चुनौतीहरू हुन सक्छन् । हामी अरूभन्दा फरक बन्न सकेनौँ भने हाम्रो उपस्थिति र औचित्य के नै रहन्छ र ? त्यसैले यी चुनौतीहरूलाई समेटेर अघि बढ्नै पर्ने अर्को चुनौती छ ।

 चुनावी एजेन्डाहरू चाहिँ के के हुन् तपाईँका ?

जुन टिमबाट आएको छु, जोसँग सम्बन्धित छु, जसलाई विगत १२÷१३ वर्षदेखि बोकेर हिँडिरहेको छु त्यसैको निरन्तरता हो जस्तो लाग्छ। विशेष गरी शिक्षा, स्वास्थ्य, रोजगारी, विदेशमा रहको नेपालीहरूको मताधिकार, विभिन्न अभियानका उपलब्धिहरूको संरक्षण गर्ने  विषय, नै हामीले चुनावी एजेन्डा बनाएर अघि बढ्ने सोचेका छौँ ।

अन्तमा केही ? 

हाम्रो अपेक्षा भनेको पहिला नेपालमा भएका सम्पूर्ण दलहरू एकतर्फ होउन्, हामी एक तर्फबाट लड्न परोस् । यही निर्वाचनलाई अन्तिम लडाई बनाएर जाउन् । देशलाई जहिले पनि अनिर्णयको बन्दी नबनाउन् भन्ने हो । त्यही अनुसार काम गरिरहेका छौँ । अब गठबन्धन एकातिर, एमाले अर्कोतिर, अर्को पार्टी अर्कोतिर भएर निर्वाचन लडेको अवस्थामा फेरि गठबन्धनको सरकार हुन्छ । अझै हामीले अर्को लडाई लड्नुपर्ने अवस्था आउँछ । अबको लडाई भनेको युवा भर्सेज  पुराना पार्टी र नेताहरुबीच हुनुपर्छ ।

विस्तृत कुराकानी यो भिडिओमा–

प्रकाशित मिति : जेठ २५, २०७९ बुधबार  ७ : ३० बजे