असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

स्थानीय निर्वाचन परिणामका नौ सन्देश



काठमाडाैँ–  पालिकाहरूले नयाँ नेतृत्व पाएसँगै नेपालको संघियताले अर्को खुट्किलो पार गरेको छ । अमेरीकातिर भनिन्छ, ‘अल पोलिटिक्स इज लोकल ।’ भनेको स्थानीय मुद्दाले अक्सर स्थानीय राजनीतिलाई प्रभावित गर्छ । तर मेरो बुझाइमा यो स्थानीय निर्वाचनको परिणामबाट निम्न निष्कर्ष निकाल्न सकिन्छ-

१) काठमाडाैँ, धरान, घनगढी वा जनकपुरमा ‘बालेनहरू’ उदाउनु अर्थात महानगर, उपमहानगर सहित १३ वटा पालिका प्रमुखको नेतृत्व स्वतन्त्र उम्मेदवारले लिनु र देशभरी झण्डै ४०० जना स्वतन्त्र उम्मेदवार अनुमोदित हुनुमा एकातिर संस्थापन पक्षको राजनीति र रोजाइप्रती जनताको बिद्रोह हो भने अर्कोतिर अहिलेका मुख्य पार्टीहरुलाई भबिष्य बोकेका र जनतासँग जोडिन सक्ने उम्मेदवार ल्याउ भन्ने सन्देश पनि हो ।

२) काठ्माडौँ परम्परागतरुपले हामी नै यहाँका रैथाने हुँ, त्यसैले हामीले नै यहाँको राज गर्ने अधिकार राख्छौं अर्थात रैथानेलाई टिकट दिए मात्र चुनाब जित्न सकिन्छ भन्ने मानसिकता बालेनले तोडे । बास्तबमा अहिलेको काठ्माडौँ २०–३० बर्ष पहिलेको नगरपालिका होईन । यो देशभरीको नेतृत्व गर्ने ‘मेट्रोपोलिट्यान्ट सिटी’ हो ।

३) अरुलाई गाली वा विरोधको गरेर मात्र राजनीति हुन्छ भन्ने मानसिकताभन्दा माथी बालेनको सराकात्मक राजनितिक सोच र चुनाबी प्रचार–प्रसारले धेरै काम गर्‍यो । जात, रंग वा भाषा होइन कि सकारात्मक सोच र देश बनाउने धुकधुकी भए मधेसीले पहाडमा वा पहाडीले मधेसमा नेतृत्व लिन सक्छ भन्ने ज्वलन्त उदाहरण दिएर बालेन राष्ट्रीय एकताका प्रतिक बने । एकताका अमेरीकामा समेत ओबामालाई ‘नट ब्ल्याक इनफ’ भन्नेहरु थिए । बालेनलाई पनि न काठमाडौँप्रति लगाब न त मधेसप्रति लगाब भन्न नखोजिएको होइन ।

४) अर्कोतिर बालेनहरुको उदय युवा पुस्ता र समग्रमा धेरै नेपालीले आशाको राजनीति, सकारात्मक सोचको राजनीति, भविष्यमुखी र सुसंस्कृत राजनीतिको अपेक्षा गर्छन् भन्ने सन्देश पनि हो । देशका मुख्य राजनितिक पार्टीको पालिकाका कार्यपालिका र बिधायिकामा बहुमत भएकाले बालेनहरूले सबैसंग मिलेर काम गर्नुपर्ने चुनौती त छ नै, राम्रो काम गर्न अबरोध भएमा निर्णय प्रकृया र छलफललाई पूर्ण पारदर्शी र जनतालाई उक्त प्रकृयामा सहभागी बनाउने अबसर पनि छँदैछ । एक थरीले अहिले नै बालेनहरुको बिरोध गर्नु राम्रो होईन । कामका आधारमा मूल्याँकन गर्दै जाउँ ।

५) ४२ प्रतिशत जनप्रतिनिधि ४० वर्षमुनिका जितेर आउनु नेपालको भबिष्यका लागी शुभ–संकेत हो । राजनीतिमा युवाको आकर्षण मात्र बढेको छैन्, यसले देशका लागि केही गरौं भन्ने युबा पङ्तिको जाँगर र जोशको पनि प्रतिनिधित्व भएको छ । आशा गरौँ यही रुझान संघीय र प्रदेशको चुनावमा पनि जारी रहोस ।

६) २०७४ को निर्वाचनको तुलनामा एमालेलाई यसपालि महानगर र उपमहानगरमा क्षति भयो भने कांग्रेसको ‘पपुलर मत’ झन्डै ६ प्रतिशत बढ्दा एमालेको ८ प्रतिशत जतीले घट्यो भनिन्छ। गठबन्धनले फाइदा बेफाइदा के गर्‍यो भन्ने बहस आफ्ना ठाँउमा छँदैछ तर गत ४ बर्षमा केन्द्र, ६ प्रदेश र धेरै स्थानीय सरकारको नेतृत्व गर्ने नेकपा (वा एमाले) का काम प्रतिको जनताको मुल्याङकन पनि हो । अर्कोतिर कांग्रेस वा माओबादी हारेका पालिकामा समेत यस्तै मुल्याङ्कन भएको देखिन्छ ।

७) यसपालिको चुनावमा पुराना र नयाँ दुबै चुनिएर आएका छन् । अहिले १४२ पालिकामा मात्रै पूराना मेयर र अध्यक्ष दोहोरिएका छन् भने २०६ जतियस अघि जितेकाले चुनाब हारे । भन्नुको अर्थ राम्रो गर्ने पुनः चुनिए भने पहिला सन्तोषजनक काम नगर्नेहरु हारे । बिद्रोही उठेको भन्ने वा अन्तर्घात भयो भन्नु एउटा तर्क होला तर यथार्थ यही हो । तसर्थ देशका मुख्य पार्टीहरुले भबिष्यमा राम्रो काम गरेकालाई दोहोर्‍याएर टिकट देउ र सन्तोषजनक काम नगरेकालाई टिकट नदेउ भन्ने सन्देश पनि हो ।

८) यो स्थानीय निर्वाचनमा समग्रमा महिलाको प्रतिनिधित्वमा असर पर्‍यो । पाँच बर्ष अगाडी करिब ७ सय पालिकामा महिला उपप्रमुख–उपाध्यक्ष थिए । यस पटक करिब ५ सय ५० जतिमा मात्रै महिला उपप्रमुख–उपाध्यक्ष चुनिएका छन् । गठबन्धनका कारण समग्रमा महिला सहभागिता र नेतृत्व बिकासमा घाटा लागेको छ । संबिधानअनुसार प्रमुख र उप–प्रमुख, मेयर र उपमेयरमध्ये एक महिला हुनुपर्ने प्रावधान मिचियो तर स्थानीय तहको निर्वाचनबाट २५ पालिकाको नेतृत्वमा महिला छानिएका छन् । अघिल्लो निर्वाचनमा १८ पालिकाको प्रमुख–अध्यक्षमा महिला थिए ।

९) यो पटक केही गठबन्धनका कारण, केही निर्बाचन प्रकृया सम्बन्धी जागरणको कमीका कारण, केही –नो भोट’ को ‘अप्सन’ नभएका कारण त केही नयाँ प्रबिधी नअपनाइएका कारण धेरै मत बदर भए । केही पालिकामा जित्नेभन्दा बदर धेरै भएकाले हाम्रो निर्बाचन प्रकृया र प्रणालीमा आमूल सुधार गर्न जरुरी छ । भारतलगायत अरु धेरै देशमा ‘इलेक्ट्रोनिक भोटिङ’ हुन्छ हामीले किन नसोच्ने ?

प्रकाशित मिति : जेठ १४, २०७९ शनिबार  ७ : ०१ बजे