असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

निजगढमा विमानस्थल बारे पर्यटनमन्त्री आलेले गरे शिर्ष नेताहरुसँग छलफल



काठमाडौं – सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सम्बन्धी सरकारले गरेका सबै निर्णय बदर गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले शिर्ष नेताहरुसहित बिज्ञ तथा सरोकारवालाहरुसंग परामर्श गरेका छन् ।

शनिबार मन्त्रालयमा भएको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, सरोकारवाला निकायका प्रमुख तथा बिज्ञहरुको सहभागीता रहेको थियो ।

छलफलका क्रममा उनीहरुले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण रोक्ने फैसला अप्रत्याशित तथा अनौठो रहेको धारणा राखेका थिए भने बिज्ञहरुले यस बिषयमा आदेशको पूर्णपाठ आएपछि मात्रै थप निचोडमा पुग्न सकिने बताएका थिए ।

छलफलपछि पूर्व पर्यटन सचिव एवं विज्ञ विरेन्द्र बहादुर देउजाले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल रोक्ने निर्णयमा छलफल भएको र सर्वोच्चको आदेशले बिकास निर्माण नै रोकिने अवस्था आएको बताए । सर्वोच्चको आदेशको पाठ आएपछिमात्रै यस बिषयमा थप छलफल गर्नु आवश्यक रहेको उहाको भनाई छ ।

आर्थिक वर्ष २०७१÷७२ बाट शुरू गरिएको यो आयोजनामा सरकारले करीब डेढ अर्ब रुपैयाँ खर्च गरिसकेको छ । यसअघि माओवादी अध्यक्ष प्रचण्डले सदनमा निजगढ विमानस्थल निर्माण रोक्ने फैसलाको पुनरावलोकन गर्नुपर्ने धारणा राखेका थिए भने समाजवादीका अध्यक्ष नेपालले सर्वोच्चको आदेश गलत भएको बताएका थिए ।

प्रकाशित मिति : जेठ १४, २०७९ शनिबार  ५ : ५६ बजे