श्रावण २८, २०७९ शनिबार | Sat Aug 13 2022

निजगढ विमानस्थल सम्बन्धमा सर्वोच्चको फैसला अविवेकी : रामचन्द्र पौडेल



काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउनू भन्ने सर्वोच्च अदालतको फैसलालाई अविवेकी निर्णयको संज्ञा दिएका छन् ।

वरिष्ठ नेता पौडेलले अदालतले गरेका कतिपय अविवेकी निणर्यले देश विकासमा अवरोध भएको र सर्वोच्च अदालतको निजगढ विमानस्थलसम्बन्धी निर्णय पनि त्यसकै नमूना भएको आरोप लगाए । उनले निजगढ विमानस्थल बनाउने कुरामा रोक लगाउने निणर्यमाथि अदालतले पुनरावलोकन गर्नुपर्ने बताएका छन् । वरिष्ठ नेता पौडेलले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तम विकल्प निजगढ विमानस्थल बाहेक अन्य हुन नसक्ने जिकिर गरे । उनले निजगढ विमानस्थल बनाएपछि काठमाडौंको एयर ट्राफिकमा भएको समस्या पनि समाधान हुने बताए ।

वरिष्ठ नेता पौडेलले निजगढ विमानस्थल बनाउनका लागि सरकारले अर्बौं रुपैयाँ खर्च गरिसकेको र साथमा काठमाडौंलाई मधेससँग जोड्ने द्रुतमार्ग समेत बनिरहेको भन्दै निजगढ विमानस्थलको अर्को विकल्प निजगढ नै भएको बताए । उनले सर्वोच्चले सिमित व्यक्तिहरुले दिएको निवेदनको आधारमा विमानस्थल बनाउन रोक लगाएको आरोप लगाए । वरिष्ठ नेता पौडेलले आफूले विमानस्थलको प्रत्यक्ष अवलोकन गरिसकेको र त्यहाँको वतावरण मास्नुपर्ने आवश्यक्ता अहिले नरहेको पनि स्पष्ट पारे ।

उनले विमानस्थलका लागि जंगल फाडानी गर्ने काम पहिल्यै भइसकेको र अहिले त्यहाँ बसेको बस्तीलाई सारेर विमानस्थल निर्माण गर्न मात्रै बाँकी रहेको बताए । वरिष्ठ नेता पौडेलले सर्वोच्चले गरेको निणर्य वास्तविकतामाथि मेल नखाएको भन्दै फैसला गर्ने न्यायाधीशहरुलाई विमानस्थलको प्रत्यक्ष अवलोकन गर्न आग्रह गरे ।

उनले केही ब्यूरोकेसीहरुले वातावरण मासिने नाउँमा विमानस्थल नबनाउन चलखेल गरिरहेको आरोप समेत लगाएका छन् । वरिष्ठ नेता पौडेलले विमानस्थल बनाउने भनिएको स्थानमा बाँकी रहेको जंगललाई जोगाउन सरकार सक्रिय रहनुपर्ने बताए । उनले सर्वोच्च अदालतले गरेको यो निणर्यले देशको विकासको बाटोमा ठूलो अफ्ठ्यारो पार्ने र यस्ता निणर्य हुने हो भने सरकारले काम गर्न नपाउने बताए ।

प्रकाशित मिति : जेठ १४, २०७९ शनिबार  २ : २७ बजे