श्रावण २८, २०७९ शनिबार | Sat Aug 13 2022

अब प्रधानमन्त्री भएर देखाउन ओलीलाई प्रचण्डको चुनौती



काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको चुनावबाट प्रधानमन्त्री भएर देखाउन एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष प्रचण्डले ओली यसअघि दुईपटक माओवादीकै सहयोगमा प्रधानमन्त्री बनेको भन्दै अबको चुनावबाट जितेर प्रधानमन्त्री बनेर देखाउन चुनौती दिएका हुन् ।

‘पहिलोपटक तपाईंकै भाषामा माओवादीको बैशाखी टेकेर प्रधानमन्त्री बन्नुभएको हो, दोस्रो पटक हाम्रोसमेत मत लिएर प्रधानमन्त्री बन्नुभएको हो ।’ प्रचण्डले भने, ‘लु त अबको चुनावबाट जितेर प्रधानमन्त्री बनेर देखाउनुहोस ।’

उनले छँदाखाँदाको सरकारबाट ओली आफ्नै अहमका कारण हट्नुपरेको, प्रदेश सरकार पनि गुमाएको र अहिलेको स्थानीय चुनावमा खुम्चिनु परेपछि ओलीमा रियलाइजेसन हुने र आत्मालोचना गरेर अघि बढ्ने आशा गरेको तर ओलीमा पुरानै दम्भ कायम रहेको, अर्कालाई गालीगलौच र आरोप प्रत्यारोप गर्ने काममा मात्र सक्रिय रहेको भन्दै आलोचना गरे ।

उनले ओलीको तीन घण्टा लामो भाषणमा वाम एकता र सहकार्यको कुरा गर्ने छन् भन्नेमा आफू आशावादी रहेको तर त्यस्तो कुनै प्रस्ताव आउनुको साटो अर्काे दल र नेतालाई गाली गर्ने काम मात्र गरेको आरोप पनि लगाए ।

एमालेका धेरै नेता कार्यकर्तासँग सहकार्य गरेर अघि बढ्न कुनै समस्या नभएको तर अध्यक्ष ओलीको दम्भ र अहंकार बाधक बनेको प्रचण्डको भनाइ छ । उनले चुनावपछि माओवादी गुगलमा मात्र भेटिने भन्दै ओलीले ब्यङ्ग्य गरेको उल्लेख गर्दै तर अहिले माओवादी केन्द्र एमालेसँग आँखामा आँखा जुधाएर बहस गर्न सक्ने अवस्थामा रहेको पनि बताए ।

प्रकाशित मिति : जेठ १४, २०७९ शनिबार  १२ : ३२ बजे