असार १८, २०७९ शनिबार | Sat Jul 2 2022

तरकारी पकाउँदा ध्यान दिनुपर्ने कुरा



– तरकारी काटेपछि धेरै समयसम्म राख्नुहुँदैन, तत्कालै पकाउनुपर्दछ र पाकेपछि धेरै समय नराखी खानुपर्दछ ।

– तरकारी सकेसम्म कम पानी राखेर ढाकेर पकाउनुपर्दछ । धेरै समयसम्म पकाइरहनुहुँदैन । पानी धेरै राखेर सुकाउनु छ भन्दै पकाउँदै गर्ने चलन धेरै ठाउँमा पाइन्छ तर यो पूर्णतः गलत तरिका हो ।

– तरकारी पटकपटक तताउँदै खाँदै गर्ने चलन पाइन्छ । यसरी धेरै पटक तताइरहँदा स्वाद र पौष्टिकता दुवै नष्ट हुन्छन् ।

– तरकारी ठूलो ठूलो टुक्रामा काट्नुपर्दछ । सिङ्गै पकाउन मिलेमा सिङ्गै पकाउनु राम्रो हो । काटेपछि धुनुहुँदैन, धोएर काट्नुपर्दछ ।

– जागर, मुला, चुकन्दर, गाँठगोभी आदिको कमलो पात फ्याक्नुहुँदैन । यसमा अत्यधिक भिटामिन र खनिज तत्व हेको हुन्छ । यसमा कब्ज निवारक गुण पनि छ ।

– तरकारीलाई धेरै बेर पानीमा भिजाएर राख्नुहुँदैन । काटेपछि त पानीमा भुलेर पनि भिजाउनु हुँदैन । धेरै समय पानीमा भिजाउनाले शरीरका लागि अति आवश्यक पोषक तत्व पानीमा घुलेर नष्ट हुन्छ ।

– जुन तरकारीको बोक्रा एकदमै खान मिल्दैन त्यसलाई मात्र तास्ने, खान मिलेसम्म नतास्ने । बोक्रा तास्न नै परेमा अति पातलो गरी तास्ने किनभने अत्यधिक भिटामिन र खनिज तत्व बोक्राको बाहिरी तहसँगै त्यसको तल रहेको हुन्छ । भाण्टा, परवर, घिरौँला, तोरई जस्ता तरकारीको बोक्रा फ्याँक्नु अहितकर हुन्छ ।

– काँचो खान मिल्ने टमाटर, काँक्रो, पातगोभी, मूला, सलादको पात, गाजर, पालक आदि सफासँग धोएर काँचै खानु बढी स्वास्थ्यकर हुन्छ । यिनीहरुलाई पकाउनाले पौष्टिक तत्व नष्ट हुनुका साथै कब्ज निवारक गुण पनि नष्ट हुन्छ । उपयुक्त कुराहरु काँचो खानुभन्दा पहिले पोटास पानी या तातोपानीले राम्रोसँग सफा गरेर मात्र खानुपर्दछ । जसले किटाणु र फोहर दुवै फ्याँकिदिन्छ ।

साभार : ‘आरोग्यको मूलबाटो’ पुस्तकबाट

प्रकाशित मिति : जेठ १४, २०७९ शनिबार  १० : ०२ बजे