असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

बालेनलाई पत्नीको बधाई- अब मेरो बालेनबाट हाम्रो बालेन भयौ



काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयरमा बिजयी भएपछि बालेन साहलाई अहिले बधाईको ओइरो लागेको छ । उनको विजयको खुशीमा विहान धन्यवाद र्‍याली नै आयोजना गरिएको थियो । यतिमात्र होइन सामाजिक सञ्जालमा आम नागरिकले पनि उनलाई जितका लागि बधाई र राम्रो काम गर्न शुभकामना दिइरहेका छन् ।

यसैबीच बालेनलाई पत्नी सबिना काफ्लेले पनि सामाजिक सञ्जालमार्फत बधाई दिएकी छिन् । उनले बालेन अब मेरो बालेनबाट हाम्रो बालेन भएको बताएकी छिन् । उनले बालेनको जितले गर्वले छाती फुलेको पनि बताएकी छिन् ।

“आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ र यसो भनिरहँदा मेरो मन अलिकति पनि खुम्चिएको छैन बरु गर्वले छाती फुलेको छ, शिर उचालिएको छ । तिम्रो संयमता नै तिम्रो शक्ति हो । दिन रात नभनी तिमीले गरेको मिहेनतको फल आज सबै सामु प्रष्ट छ । तिम्रो धैर्यता र दृढतालाई कोटी कोटी नमन्” उनी लेख्छिन् – “घरी घरी डर पनि लाग्छ , अगाडि विशाल भवसागर छ , बाधा अड्चन चुनौतीहरूको अड्कल काट्न पनि मन डराउँछ तर फेरि जनमानसमा तिमीप्रतिको विश्वास सम्झन्छु, उहाँहरुको माया सम्झन्छु, उहाँहरुको साथ सम्झन्छु, तिम्रो दृढता सम्झन्छु अनि मन ढुक्क हुन्छ । चुनौतीहरु धेरै आउलान् तर तिमीले भन्ने गरेजस्तै गाह्रो होला तर असम्भव छैन । तिमीलाई आफ्नो कार्यकालमा कहीँ कतै नडगमगिने शक्ति मिलोस् ।अब तिमीले जीवनमा पछाडि फर्केर कहिले हेर्न नपरोस् । पछाडि हेर्न परे पनि कृतज्ञताका लागि मात्र होस् ।”

उनले थपेकी छन् – “तिम्रा पाइला अगाडि मात्र बढिरहुन् , ती अगाडि बढिरहेका पाइलासँग साथमा साथ हिँड्न मेरो प्रेम, मेरो विश्वास , मेरो साथ अनि समर्थन तिमीसँग सदैव हुनेछ । घर भित्रबाट जितेर हिँडेको मानिसको बाहिर कहिले पनि हार हुँदैन । म तिमीलाई कहिले हार्न दिने छैन । मेरा हरेक प्रार्थनामा तिम्रो सफलता हुनेछ । तिमीलाई हार्दिक बधाई । मलाई हार्दिक बधाई । हामी सबैलाई हार्दिक बधाई । बालेन”

प्रकाशित मिति : जेठ १३, २०७९ शुक्रबार  २ : ३२ बजे