असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

शपथ लिएपछि पोखरा महानगर प्रमुख आचार्यले भने – ‘पोखरालाई पर्यटकीय राजधानी बनाउछु’



गण्डकी – स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकामा निर्वाचित भएका महानगर प्रमुख, उपप्रमुख तथा वडाध्यक्षलगायत जनप्रतिनिधिले आज पद तथा गोपनियताको शपथ लिएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा पोखरा सभागृहमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलेको उपस्थितिमा मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले महानगर प्रमुख धनराज आचार्यलाई पद तथा गोपनियताको शपथ गराए । यसैगरी महानगर प्रमुख आचार्यले मुख्य निर्वाचन अधिृकत समक्ष शपथ लिएपछि उपप्रमुख मञ्जुदेवी गुरुङ, वडाध्यक्ष र वडा सदस्यहरूलाई शपथ गराए ।

कार्यक्रममा महानगर प्रमुख आचार्यले सुन्दर पोखरालाई सबैले हेर्न चाहेको बनाउनका लागि आफूहरू प्रतिबद्ध रहेकाले यसमा सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे । उनले भने, “हामीले गर्ने सकारात्मक काममा मिडियाको साथ र सहयोग रहनेछ ।’’

शपथ पश्चात उपप्रमुख मञ्जुदेवी गुरुङले सबैको साथ र सहयोगमा पोखरालाई समृद्ध बनाउनेतर्फ लाग्ने प्रतिबद्धता व्यक्त गरे । गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले समुन्नत पोखरा निर्माणमा नवनिर्वाचित जनप्रतिनिधि सफल बन्ने विश्वास व्यक्त गरे ।

पोखराको समृद्धि र विकास गण्डकी प्रदेशको समृद्धि र विकाससँग प्रत्यक्ष जोडिने बताउँदै उनले यहाँको विकासका लागि सहकार्यका साथ अघि बढ्ने बताए । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जनताको शासक नभइ सेवक हुँ भन्ने भावनाका साथ काम गर्न आग्रह गरे । पोखरालाई पर्यटकीय राजधानी बनाउने विश्वास व्यक्त गर्दै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँग जोडिएका रिट्ठेपानीको डाँडा कटान, ल्याण्डफिड साइटको व्यवस्था लगायतमा देखिएका समस्या चाँडै नै समाधान गरिने बताए । मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले निर्वाचनलाई स्वच्छ, निष्पक्ष एवं भयरहित बनाउनका लागि साथ र सहयोग गर्ने सबै राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मीलाई धन्यवाद व्यक्त गरे ।

बुधबार घोषणा गरिएको अन्तिम मतपरिणाम अनुसार पोखरा महानगरको प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा(एकीकृत समाजवादी) आचार्य ५८ हजार ८९३ मत प्राप्त गरी विजयी भएका थिए । यसैगरी उपप्रमुखमा नेकपा(एमाले) का मञ्जुदेवी गुरुङ ६० हजार ५४६ मत ल्याएर विजयी भइन् । पोखरा महानगरका ३३ वडामध्येमा नेपाली कांग्रेसले २३, नेकपा एमालेले नौ र स्वतन्त्र एक उम्मेदवार विजयी भएका थिए ।

प्रकाशित मिति : जेठ १२, २०७९ बिहीबार  ८ : २९ बजे