काठमाडाैँ– विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट बुधबार राजीनामा दिएका थिए । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा पार्टीले निराशाजनक परिणामको सामना गर्नुपरेपछि उनले पदबाट राजीनामा दिएको बताएका थिए ।
उनले स्थानीय निर्वाचनमा २०७९ मा विवेकशील साझा पार्टीको आम रूपमा निराशाजनक परिणाम आएको स्वीकार गर्दै यसमा आफ्नो पनि केही दोष रहेको बताएका हुन् ।
आज उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पार्टीका नेता तथा सदस्यलाई पार्टीबाट राजीनामा नदिन आग्रह गरेका छन् । उनी लेख्छन्, ‘पार्टीका कतिपय नेता तथा सदस्यहरूले राजीनामा दिन थाल्नुभएको या राजीनामा दिने तयारी गरेको देखियो। कृपया, त्यसो नगरिदिनु होला। कुनै पनि पार्टीको नेताले नाजुक चुनावी परिणाम आएपछि जे गर्नु पर्ने हो, मैले त्यही नै गरेको हुँ। पार्टीको केन्द्रीय समितिको बैठक बस्न दिनुहोस् र त्यसले नै पार्टीको भावी प्रारम्भिक बाटो तय गर्नेछ भन्ने विश्वास लिएको छु।’
प्रतिक्रिया