असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

आज अपरा (अचला) एकादशी, यस्तो छ कथा



काठमाडौँ– आज अपरा एकादशी । यस एकादशीलाई अचला एकादशी पनि भनिन्छ । यो एकादशी अन्य एकादशी झै भगवान विष्णुमा सर्मपित छ ।

अपरा एकादशीको महिमा भगवान श्रीकृष्णले युधिष्ठिरलाई ब्रह्माण्ड पुराणमा बताउनु भएको उल्लेख छ । पुराणमा युधिष्ठिरले जेष्ठ महिनाको कृष्ण पक्षमा पर्ने एकादशीका बारेमा सोधेको र श्रीकृष्णले यस एकादशीको महिमा बारे बताएको उल्लेख छ ।

कृष्ण भन्नुहुन्छ, ‘राजन, जेष्ठ महिनाको यस पावन एकादशी अपरा एकादशी हो । यस एकादशीमा व्रत बसेर महिमा गर्ने भक्त विश्वमै विख्यात हुने छन् । गौहत्या, ब्राह्मण हत्या, भ्रुणहत्या या परस्त्रीगमन जस्ता महापाप पनि यस एकादशीको व्रत र भक्ति अनि प्रायश्चित गर्नाले कट्नेछ ।

श्रीकृष्ण आज्ञा गर्नुहुन्छ, ‘हे राजन, जसले गलत बयान दिन्छन्, सत्यको पक्षमा नलागी असत्यका लागि षडयन्त्र गर्छन् तिनीहरू अत्यन्त पापी ठहरिन्छन् । वेद गलत व्याख्या गर्ने या पढ्ने, आफ्नो कर्तव्य नगर्ने, अरुलाई ठग्ने, खराब पेशा गर्नेहरू सबै महापापी हुन् । यी सबै महापापीले आफ्नो पापको प्रायश्चित गर्न यस एकादशीमा भक्तिभाव अनि हरिको शरण परेमा पाप मोचन हुन सक्नेछ ।’

यस एकादशीका दिन बिहान सबेरै उठेर सूर्योदय अगावै स्नान गर्ने, श्रीविष्णुलाई तुलसीको पात, धुप अनि बत्ती बाल्ने, भगवान बिष्णुका मन्दिर दर्शन गर्ने, मन्दिर परिसर या घरमा सबै जना मिलेर वाचकको मुखारबिन्दबाट अपरा एकादशी महात्मय श्रवण गर्ने गरिन्छ ।

प्रकाशित मिति : जेठ १२, २०७९ बिहीबार  ७ : ५० बजे