श्रावण २८, २०७९ शनिबार | Sat Aug 13 2022

कैलाली विपतपुरका आगलागी पीडितको विचल्ली, वर्षायाम त्रिपालमै काट्नुपर्ने चिन्ता



कैलाली – कैलालीको बिपतपुर शिविरका आगलागी पीडितहरुले आवास तथा खेतीपातीका लागि आवश्यक बिउ उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । एक महिनाअघि आगलागीबाट पुर्ण रुपमा क्षति भएका कैलारी गाउँपालिकास्थित विपतपुरका आगलागी पीडितहरुले बर्खा लागेसँगै आफुहरुको जीउ ज्यानको सुरक्षा गरिदिन सरकारसँग आग्रह गरेका हुन् ।

कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७ मा रहेको मुक्त कमैया बस्ती बिपतपुर शिविरमा गत बैसाख ११ गते आगलागी भएको थियो । खेतबाट फैलिएको आगोले शिविरका २७ घर पुर्ण, १२ आशिंक र ३२ घरमा सामान्य क्षति भयो । आगलागी पश्चात छिमेकी नगरपालिकाको दमकल र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

 

आगलागीबाट घर र घरभित्रको सबै सम्पति गुमाएका शिविरबासीलाई स्थानीय र प्रदेश सरकारले खाद्यान्नको ब्यवस्था गरेको थियो । त्यससँगै प्रदेश सरकारले सबैका घर पुनः निर्माण गरिदिने घोषणा गरेको थियो । आगलागी पीडित तेजराम चौधरीका अनुसार प्रदेश सरकारले घर पुनर्निर्माण गरिदिने बताएपनि वर्षे झरीमा समेत त्रिपालमुनी नै रात कटाउन बाध्य छन् पीडितहरु । सरकारसँग पीडितहरुले घर बनाउनका लागि आवश्यक सहयोग गर्न आग्रह गरेका छन् ।

आगलागीबाट पुर्ण क्षति भएका घरसँगै लत्ता कपडा, खाद्यान्न लगायत घरभित्रको सबै सामान नस्ट भएपछि अहिले शिविरबासीहरु त्रिपालमुनी रात कटाइरहेका छन् । तर बर्षात शुरु हुन थालेको भन्दै त्यस भन्दा अघि घर बनाउन पाए आफुहरुलाई सहज हुने उनीहरुले बताएका छन् । प्रदेश सरकारले घर बनाउने आश्वासन दिएपनि घर बन्ने ठेगान नभएपछि उनीहरुले सामुदायिक वनसँग सहकार्य गरी काठ उपलब्ध गराइदिए आफै घर बनाउने बताएका छन् । आगलागी पीडित श्रवणकुमार चौधरीले भने, प्रदेश सरकारले घर बनाइदिने त भनेको छ तर कहिले बन्ने थाहा छैन । बरु काठ मात्र उपलब्ध गराइदिए पनि घर आफैं बनाउँथ्यौं ।

यस्तै खेती लाउने शिजन शुरु भएको भन्दै आवश्यक बीउविजन उपलब्ध गराउन समेत उनीहरुले माग गरेका छन । घरभित्र राखेका बिउ बिजन, ट्याक्टर, हेन्डपम्प लगायत सबै जलेर नस्ट भएपछि शिविरबासीले अहिलेसम्म खेतीपातीका लागि बिउ छर्न पाएका छैनन् । दैनिक छाक टार्नका लागि सरकारले दिएको राहतले पुगेपनि घर निर्माणका लागि सहजीकरण तथा बर्खे खेतीका लागि बिउ बिजनको ब्यवस्था गरिदिन उनीहरुले सरकासँग माग गरेका छन् ।

स्थानीय तहको चुनावअघि आगलागी पिडितहरुमाझ पुगेर विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरुले घर बनाइदिने तथा सुरक्षित क्षेत्रमा बसोबासको ब्यवस्था मिलाउने आश्वासन दिएका थिए । अहिले ती आगलागी पिडितहरु चुनावअघि नेताहरुले दिएको आश्वासनको पर्खाइमा छन् ।

प्रकाशित मिति : जेठ ११, २०७९ बुधबार  ३ : ०१ बजे