असार १८, २०७९ शनिबार | Sat Jul 2 2022

भारतले चिनीको निर्यातमा लगायो रोक



काठमाडौं – भारत सरकारले यसै जुन महिनादेखि अक्टोबरसम्म चिनीको निर्यातलाई सीमित गर्ने घोषणा गरेको छ । घरेलु मूल्यवृद्धि कम गर्नका लागि यस्तो नीति अपनाउन लागेको जनाइएको छ । रिपोर्टका अनुसार सरकारले सबै व्यापारीहरुलाई जुन १ देखि अक्टोबर ३१ का बीच चिनीको विदेशी कारोबार सम्बन्धी अनुमति सुनिश्चित गराउन भनिसकेको छ ।

घरेलु बजारमा चिनीको उपलब्धता बढाउन र मूल्यलाई नियन्त्रित गराउन यस्तो कदम उठाउन लागिएको इकोनोमिक टाइम्सले जनाएको छ । यसमा पूणर् प्रतिबन्ध नभएर चिनीको निर्यात् सीमित गराउने जनाइएको छ । घरेलु उपलब्धता र स्थिर मूल्यलाई कायम राख्नुपर्ने बताइएको छ ।

यी बन्देजहरु अमेरिका र युरोपेली युनियनमा हुने चिनी निर्यातमा चाहिँ लागू नहुने बताइएको छ । यसरी ६ वर्षमा पहिलोपटक भारतले चिनीको निर्यात सीमित गराउन लागेको हो । भारत विश्वकै दोस्रो ठूलो चिनी उत्पादक हो जसकारण यसको प्रभाव विश्वव्यापी रहने बताइएको छ । युक्रेनमा जारी युद्धपश्चात् विश्वभर विभिन्न मुलुकहरुले खाद्यान्न निर्यातमा कडाइ अपनाइरहेका छन् ।

प्रकाशित मिति : जेठ ११, २०७९ बुधबार  २ : ०२ बजे