असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

झापामा दुई महिला पालिका प्रमुखमा निर्वाचित



झापा– झापा जिल्लाका १५ पालिकामध्ये दुई पालिकाका प्रमुख पदमा महिला निर्वाचित भएका छन् । निर्वाचित हुनेमा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा र गौरीगञ्ज गाउँपालिका अध्यक्ष फूलमति राजवंशी रहेका छन् । महतरा नेकपा (एमाले)बाट र राजवंशी नेपाली कांग्रेसबाट विजयी बनेका हुन् ।

झापाका १५ पालिकामध्ये एमालले तीन र कांग्रेसले दुई पालिकामा महिलालाई प्रमुख पदका उम्मेदवार बनाएको थियो । मुख्य दलका पाँच महिलाले प्रमुख पदमा उम्मेदवारी पाए पनि विजयी भने दुई जना मात्र भएका हुन् । एमालेले दमकमा गीता अधिकारी, बिर्तामोड नगरपालिकामा महतरा र बुद्धशान्ति गाउँपालिकामा मीरा भुर्तेललाई अध्यक्षको उम्मेदवार बनाएको थियो । अधिकारी राष्ट्रिय प्रजातन्त्र पार्टीका राम थापा र भुर्तेल नेपाली कांग्रेसका मनोज प्रसाईँसँग पराजित भएका हुन् ।

यसैगरी कांग्रेसले अर्जुनधारा नगरपालिकामा रञ्जिता कार्की र गौरीगञ्जमा फूलमति राजवंशीलाई उम्मेदवार बनाएको थियो । कार्की एमालेका बलदेव गोम्देनसँग पराजित भइन् भने राजवंशीले एमालेकै विजयकुमार अग्रवाललाई पराजित गर्दै विजयी बनेकी हुन् ।

बिर्तामोड नगरप्रमुख महतरा २०७४ सालको निर्वाचनबाट उपप्रमुख पदमा विजयी बनेकी थिइन् । राजवंशी २०७४ सालको स्थानीय तह निर्वाचनमा राप्रपासँग पराजित भएकी थिइन् । झापामा अघिल्लो निर्वाचनमा कमल गाउँपालिकाले मात्र महिला अध्यक्ष पाएको थियो । जिल्लाका १२ पालिकामा महिला उपप्रमुखमा निर्वाचित भएका छन् भने कचनकवल, बुद्धशान्ति गाउँपालिका र बिर्तामोड नगपालिकामा मात्र पुरुष उपप्रमुखमा निर्वाचित भएका छन् । – रासस

प्रकाशित मिति : जेठ ११, २०७९ बुधबार  ७ : ५९ बजे