श्रावण २८, २०७९ शनिबार | Sat Aug 13 2022

भरतपुर अस्पतालको ओपीडी टिकट बिहान ७ बजेदेखि



चितवन– भरतपुर अस्पतालले सातामा पाँच दिन बिहान ७ बजेबाट नै ओपीडी टिकट खुला गरेको छ । अस्पतालले सातामा दुई दिन बिदा हुँदा बिरामीको चाप बढेकाले बिहान ७ बजेबाट नै पहिलो पटक टिकट खुला गरेको हो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड प्राडा कृष्णप्रसाद पौडेलका अनुसार यसअघि बिहान ८ बजेबाट ओपिडी टिकट खुला गरिँदै आएकोमा एक घण्टा अघिदेखि नै टिकट खुल्ला गरिएको हो । उहाँका अनुसार बिहान ८ : ३० बजेबाट जिओपिडी (जनरल ओपिडी) सेवा शुरु हुनेछ भने विशेषज्ञ क्लिनिक ९ : ० बजेबाट सुरु हुनेछ ।

यसअघि मध्याह्न १२ बजेसम्म ओपिडी टिकट खुल्ने हुने गरेकोमा आधा घण्टा थप गरी अब टिकट काउन्टर १२ : ३० बजेसम्म खुल्ने छ । सोमबारदेखि शुक्रबारसम्म बिदाको दिन बाहेक यो नियम लागू हुने पौडेलले जानकारी दिए । ओपिडी सेवामा परीक्षण भने ९ : ३० बजेदेखि ३ : ३० बजेसम्म हुनेछ ।

अस्पतालले आइतबार सार्वजनिक बिदाको दिन पनि निजी अस्पतालको तुलनामा कम शुल्कमा बिहान ९ः३० देखि दिउँसो १ बजेसम्म बिरामीलाई ओपिडीमा परीक्षण गर्ने व्यवस्था मिलाएको छ ।

प्रकाशित मिति : जेठ ९, २०७९ सोमबार  १० : ०५ बजे