असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

प्रधानमन्त्री देउवा पत्नी आरजुलाई छुट्टै भेटिन् अमेरिकी उपमन्त्री जियाले



काठमाडौँ – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवासँग संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जियाले भेटवार्ता गरेकी छिन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी समेत रहेकी आरजु र अमेरिकी उपमन्त्री जियाबीच आइतबार बिहान बालुवाटारमा भेटवार्ता भएको हो । भेटपछि अमेरिकी उपमन्त्री जियाले सामाजिक सञ्जाल ट्वीटरमार्फत आरजुको प्रशंसा गरेकी छिन् ।

उनले अमेरिकी विदेश नीतिको आधारशिला रहेको महिला तथा बालिकाहरुको अधिकारलाई अगाडि बढाउने अभियानमा अग्रपंक्तिमा रहेको भन्दै प्रशंसा गरेकी हुन् । उनले आरजुलाई भेट्न पाउँदा सम्मानित महसुस गरेको पनि बताएकी छिन् ।

उनीहरुबीचको भेटवार्तामा महिला सशक्तिकरण, मानवअधिकार, जलवायु परिवर्तन, खाद्य असुरक्षा र अन्य विकासका मुद्दाहरूको बारेमा छलफल भएको बताइएको छ ।

प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार  ८ : ५१ बजे