असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

दिनभर विजयी भोजमा रमाएका एक पुरूष मृत भेटिए



कालिकोट । रास्कोट नगरपालिका वडा नम्बर ८ का ४४ बर्षिय प्रेम दर्जि शनिबार मृत अवस्थामा भेटिएका छन । हालै स्थानीय तहको निर्वाचनमा नगरपालिकाको उप-प्रमुखमा विजयी भएका मनिराज बरालको घर पाटेडीलमा शुक्रबार बिहान भोज खान गएका थिए ।

मृतक दर्जि दिनभर विजयी भोजमा रमाएको भएपनि साझ आफ्नो घर फर्कन पाएनन् । दर्जिको लागि विजयी भोज नभएर मृत्यु भोज भएको छ ।शनिबार साझ ६ बजे तिर पाटेडीलको पानिगौंडाको छेडा कुलामा दर्जिको शव भेटिएको छ । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

रास्कोट इलाका प्रहरी र सदरमुकाम मान्मबाट आएको प्रहरी टोलिले घटनाको अवलोकन गरि आइतबार बिहान घटना स्थलको मुचुल्का गर्दै रास्कोट सामुदायिक अस्पतालमा पोष्टमाटमका लागि शव पठाएको छ ।

शवको पोष्टमाटम गरेपछि दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ । मृतक दर्जिका श्रीमती बाटुल्लि दर्जिले आफ्नो श्रीमान जेठ ६ गते राति १० बजे सम्म मोबाइल सम्पर्कमा भएपनि राति १२ बजे मोबाइलमा फोन गर्दा बिरानो आवाज सुनिएको र त्यसपछि सम्पर्क हुन नसकेको बताए ।

पारिवारिक श्रोतका अनुसार घटना रहस्यमय भएको र अनुसन्धान गरिनुपर्ने माग छ । मृतक दर्जिसँग राति सम्म सँगै भएका केशव दर्जिका अनुसार “राति ८र९ बजे उप-प्रमुखको घरमा विजयी भोजको खुसियाली मनाएर आ-आफ्नो घर जान हिडेका थियौं, पानिगौंडाको जगदीश न्यौपानेको पसलमा रक्सी छकि भनेर सोध्न आएका थियौं, तर रक्सी नभेटिएपछि आ-आफ्नो घर जाने भनेर छुटियौं त्यसपछि के भयो थाहा भएन ।”

मृतक दर्जिको साथमा रहेको ९७४२९६०९१९ नम्बरको मोबाइल समेत भेटिएको छैन । मृतकको निधारमा गहिरो घाउ परि रगत बगेको र बायाँ तिरको अनुहारको हड्डी भित्र दबेको छ ।

मृतकको शव कुलामा दक्षिण तिर घोप्टो परेको र लडेर खसेको जस्तो पनि नदेखिएको स्थानीयको भनाइ छ । घटना स्थल नजिकै रहेको पसलका ब्यापारी जगदीश न्यौपानेका अनुसार “मृत अवस्थामा भेटिएका प्रेम दर्जि सँगै केशव दर्जि र हर्क दर्जि राति १० बजे आफ्नो पसलमा रक्सी खोजेर आएको र छैन भनेपछि फर्किएका थिए ।”

न्यौपानेले भने “७ गतेको बिहान र दिउँसोसम्म केहि पनि थाहा भएन, आफ्नो पसलबाट साझ ६ बजेतिर बच्चाले लोहोटा खसालेर तल झरेपछि आफू लोहोटा लिन जादा शव देखे र आकाशबाट खसे जस्तै भए, अनि मदन बराललाई खबर गरे ।”

नगर उप-प्रमुख बरालको घरभन्दा करिब सय मिटरको पूर्व दिशातिर मृतक दर्जिको शव भेटिएको हो । घटनाको प्रकृति हेर्दा केही असहज देखिएको नवनिर्वाचित वडा नम्बर ८ का वडा अध्यक्ष स्टारले बताएका छन् ।सर्वसाधारणका अनुसार जेठ ६ गते दिउँसो मृतक दर्जिले नाचगान गर्नुका साथै धेरै रमाइलो गरेका थिए । रक्सी पनि धेरै खाएका थिएनन् ।

मृतकको आमा औंली दार्जिले विछिप्त हुदै आफ्नो मृतक छोरा ज्यूदो बनाइदिन विजयी भोजको आयोजना गर्ने जनप्रतिनिधिहरूलाई आग्रह गरे । उनले आफ्नो छोरा आफै लडेर नमरेको र कसैको कर्तव्य बाट मरेको हुनसक्ने आसंका ब्यक्त गरे ।

विजयी भोजमा रक्सी मासु खानेहरूको भिड थियो । बजाउने र नाचगान गर्ने सबै दर्जिहरूले पनि रक्सी खाएका थिए एक स्थानीयले भनेका छन । उनले भने “यो विजयी भोज नभइ अहिले त रक्सीकै कारण मृत्यु भोज भयो । रक्सी खाने सबै भोज बन्द गरिनुपर्छ ।”

मृतक दर्जिको बसोवास वडा नम्बर ८ को लाउका भन्ने ठाउँमा रहेको छ । उनका ४ छोरा, २ छोरी, श्रीमती र आमा गरि ८ जनाको परिवार रहेको छ । प्रहरीले भने घटनाको गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको बताएको छ भने हालसम्म कसैलाई पक्राउ गरिएको छैन । विजयी भोजमा गएका आफन्त कहिले घर नफर्किने गरि अस्ताएपछि श्रीमती, आमा लगायत सबै घर परिवार आफन्तहरू शोकमग्न भएका छन

प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार  ७ : ३० बजे