असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

गृहमन्त्री खाण र अमेरिकी उपमन्त्री जियाबीच भेटवार्ता, एमसीसी बिषयमा कुराकानी



काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाणसँग संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जियाले शिष्टाचार भेटवार्ता गरेका छन् ।

मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी सहयोग र सम्बन्धका विविध विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । साथै नेपाल र अमेरिकाबीच दौत्य सम्बन्ध स्थापनाको ७५औँ वर्षका अवसरमा दुई देशबीचका विकास साझेदारी एवं सम्बन्धका विविध विषयमा छलफल भएको थियो ।

गृहमन्त्री खाणले भूकम्पछिको पुनःनिर्माण र कोभिडको रोकथाम तथा नियन्त्रणमा प्राप्त अमेरिकी सहयोगका लागि धन्यवाद व्यक्त गरे । गृहमन्त्री खाणले नेपाल आफ्नो छिमेकी देश भारत र चीनको सुरक्षा संवेदनशीलताप्रति प्रतिबद्ध रहेको उल्लेख गर्र्दै विश्वमा स्वतन्त्रता, मानवअधिकार र लोकतन्त्रका क्षेत्रमा अमेरिकाले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरे।

साथै यस भेटका क्रममा नेपालको तर्फबाट भुटानी शरणार्थीको तेस्रो देश पुनर्वासको लागि अमेरिकाले गरेको सहयोगका लागि मन्त्री खाणले अमेरिकी सरकारप्रति आभार व्यक्त गरेका थिए ।

उपमन्त्री जियाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) संसदबाट अनुमोदन गरी नेपालको विकास र गरिबी निवारणतर्फ नेपाल सरकार अग्रसर भएकामा अमेरिकी सरकारका तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए । त्यस अवसरमा उपमन्त्री जियाले अमेरिकाले नेपाललाई दिने आर्थिक सहयोगमा बढोत्तरी गरेको जानकारी पनि दिएका थिए ।

प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार  ५ : २२ बजे