असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

गठबन्धनलाई पछार्दै धनगढीमा यसरी उदाए स्वतन्त्र उम्मेदवार



कैलाली – सुदूरपश्चिमको एक्लो उपमहानगरपालिका धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् । ५ दलीय गठबन्धनका उमेदवार कांग्रेसका नृपबहादुर वडलाई भारी मतान्तरले पराजित गर्दै हमाल विजयी भएका हुन् । उप मेयरमा पनि गठबन्धनबाट माओवादी केन्द्रकी शान्ती अधिकारीलाई पराजित गर्दै एमालेकी कन्दकला राना बिजयी भएकी छिन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उमेदवार बनेका नृप बहादूर वड २ हजार ७ सय बढी मत ल्याएर बिजयी भएका थिए । उनका प्रतिद्धन्द्धी गोपाल हमाल यस पटक निकै लोकप्रिय मतले बिजयी भएका हुन् । हमालले वडलाई १२ हजार बढी मतले पराजित गरेका हुन् ।

हमालले २६ हजार ८६५ मत पाए भने वडले १४ हजार ८१७ मत पाएका छन् । यस्तै एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत पाएका छन् । नेपाली कांग्रेसको गढ मानिने धनगढी त्यसैमा गठबन्धन हुँदा समेत स्वतन्त्र उमेदवारले बाजी मारेका छन् । नव निर्वाचित मेयर हमालले धनगढीमा सञ्चालित योजनाको निरन्तरता र सचिवालय सुदृढिकरण पहिलो प्राथमिकतामा राखेको बताए ।

यस्तै उपमहानगरपालिकाको उपमेयरमा एमाले उम्मेदवार कन्दकला राना विजयी भएकी छिन् । उनले सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार शान्ति अधिकारीलाई पराजित गरेकी हुन् ।

रानाले १५ हजार ४७९ मत पाउँदा माओवादी केन्द्रकी अधिकारीले १२ हजार ६७० मत पाइन् । स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार ६०९ मत पाए । सत्ता गठबन्धनलाई पराजित गर्दे एमालेबाट उप मेयरमा निर्वाचित रानालेपनि सबैको सहकार्यमा धनगढीको बिकास गर्ने प्रतिबद्धता गरेकी छिन् ।

उपमहानगरमा रहेका १९ वटा वडामध्ये ११ वडामा नेपाली काँग्रेस ६ वडामा नेकपा एमाले र दुई वडामा माओवादी केन्द्र विजयी भएको छ । ०७४ सालको निर्वाचनमा काँग्रेसले मेयर र उपमेयरसहित १२ वडामा जित निकालेको थियो । माओवादी केन्द्र ५ वडामा विजयी हुँदा एमाले भने २ वडामा मात्रै विजयी भएको थियो । यसपटक एमालेले भने धनगढीमा अवस्था सुधार गरेको छ ।

प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार  ३ : १७ बजे