असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

सरकारमा गएर गर्ने कामको योजना दलसँग छैन् : गगन थापा



काठमाडौँ–  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारमा गएर गर्ने कामको योजना राजनीतिक दलहरूसँग नरहेको बताएका छन् । 

आइतबार काठमाडौँमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष अर्थविद् स्वर्णिम वाग्लेद्वारा लिखित पुस्तक ‘अतृप्त अवसर’ सार्वजनिक गर्दै थापाले राजनीतिक दलहरूको तयारी सरकारमा पुग्ने मात्र रहेको र सरकारमा पुगेपछि गर्ने कामको योजना नरहेको बताएका हुन् ।

उनले जतिसुकै ठूला कार्यक्रम ल्याएपछि कार्यान्वयनको नीति फितलो देखिएको जिकिर गरे । थापाले आगामी प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले बहुमत पाउने दावी गर्दै सरकारमा गएपछिको भावी योजनाका बारेमा अहिलेदेखि तयारी थालेको उल्लेख गरे । कांग्रेसले बहुमत प्राप्त गर्दै गर्दा मुलुकलाई दुर्घटनामा पार्दैन भनेर कसरी आश्वस्त पार्ने भन्ने विषय प्रमुख रहेको उनको भनाई छ ।

त्यस्तै थापाले मुलुकका बिभिन्न स्थानमा स्थानीय तहको निर्वाचनको मतपरिणाम हेर्दा दलहरूले उम्मेदवार उठाउँदा निकै सोच बिचार गर्नुपर्ने अवस्था आएको धारणा राखे  । 

पुस्तक फाइनप्रिन्टले प्रकाशनमा ल्याएको पुस्तकमा वाग्लेद्वारा लिखित बिभिन्न लेखहरू सङ्ग्रहित गरिएको छ ।

 

प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार  २ : २२ बजे